Palpa Dainik
आइतबार, कार्तिक ०९, २०८३  |  October 25, 2026
×

पाल्पा-रिब्दिकोट गाउँपालिका–४ स्थित प्रसिद्ध भैरवनाथ मन्दिर परिसरमा भोटेकोशी विपद्का क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा दीप प्रज्वलन तथा भजनकीर्तन कार्यक्रम सम्पन्न भएको छ।

भोटेकोशी क्षेत्रमा भएको दुःखद घटनामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो।

गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले प्राकृतिक विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। दुःखको यस घडीमा पीडित परिवार र समुदायप्रति सबैले साथ तथा सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। त्यसैगरी, भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद खनालले घटनाले सबैलाई स्तब्ध बनाएको भन्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो। धार्मिक तथा सामाजिक रूपमा आयोजना गरिने यस्ता कार्यक्रमले दुःखमा परेका परिवारलाई सहानुभूति र एकताको सन्देश दिने उहाँको भनाइ थियो।

राष्ट्रिय लोक भजन तथा चुड्का संरक्षण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नारायण लेकालीले भजन चुड्का हाम्रो समाजको पहिचान भएको बताउनुभयो। पछिल्लो समयमा पश्चिमा संस्कृति भित्रिएको उल्लेख गर्दै उहाँले भजन चुड्का र धार्मिक कार्यक्रमलाई बचाइराख्न स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो।

कार्यक्रममा रिब्दिकोट भजन टुक्का समूहकी अध्यक्ष लक्ष्मी खनालले स्वागत मन्तव्य व्यक्त गर्दै भजन तथा धार्मिक अनुष्ठानमार्फत विपद्का बेला समाज एकजुट भएर उभिनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा रिब्दीकोटमा रहेका हिमाल भजन चुड्का समूह कुसुमखोला, राधाकृष्ण भजन चुड्का समूह भैरवस्थान, लघुवा भजन चुड्का समूह देउराली, परमानन्द बाल वृद्ध कल्याण संघ कुसुमखोला, मैनादी कान्ता आश्रम योगिकुटी पालुङ, रैनादेवी छहरा गाउँपालिकाको भगवती मालिका भजन समूह ताङ्सिल, राधाकृष्ण भजन समूह सोमादी र तानसेन नगरपालिका-२ को श्रीजनशील एकादशी भजन समूहको सहभागिता रहेको थियो।

पन्चेबाजा समेत घन्काइएको उक्त कार्यक्रमका सहभागीहरूले मन्दिर परिसरमा दीप प्रज्वलन गरी दिवंगत आत्माको चिरशान्ति र शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गरेका थिए। दीप प्रज्वलनपश्चात् स्थानीय भजन टुक्का तथा समूहहरूले भक्तिमय भजन प्रस्तुत गरेका थिए।

भैरवनाथ मन्दिर व्यवस्थापन समितिका सचिव शिव पोखरेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्थानीयवासी, भक्तजन, भजनप्रेमीका साथै विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्बन्धित समाचार