Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता बिपी कोइरालाको दर्शन, सोच र चिन्तनलाई पूर्णरुपले अनुसरण गरी पार्टीलाई अझ बढी सुदृढ बनाउनुपर्ने बताएका छन् ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्तीका अवसरमा आज नेपाली लेखक सङ्घ काठमाडौं शाखाले बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजना गरेको साहित्यिक महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले बिपीले प्रजातन्त्रका लागि गरेका सङ्घर्षबाट पार्टीका नेता, कार्यकर्ता एवं शुभेच्छुकले प्रेरणा लिनुपर्ने बताए ।

बिपीले प्रजातन्त्र स्थापना एवं पुनःस्थापना, नेपालको दिगो विकास र नेपाली साहित्यमा पुर्याएका योगदानलाई देशव्यापीरुपमा प्रचारप्रसार गरी कांग्रेसलाई थप सशक्त बनाउने अभियानमा लाग्न सभापति देउवाले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । बिपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै उनले कांग्रेसले सधैँ सबै दलबीच मेलमिलापका लागि समन्वय गर्दै आएको बताए ।

बिपी कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । बिपी बाल्यावस्थादेखि नै नेपालमा प्रजातन्त्र स्थापनाका लागि सक्रिय रहेका थिए । विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए ।

सम्बन्धित समाचार