Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

पाल्पा -रिब्दीकोट गाउँपालिकाको आयोजनामा एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान २०८१ अन्तर्गत पालिका स्तरीय खोप समन्वय समिति तथा विद्यालयका प्रधानाध्यापकहरूको गोष्ठी एवं अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा गाउँ कार्यपालिकाको कार्यालय, खस्यौलीमा सम्पन्न भएको हो। कार्यक्रममा उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सक्रिय राजनीतिक दलका प्रतिनिधिहरू, गाउँपालिकाभित्रका माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापकहरू, कार्यालयका कर्मचारीहरू एवं सम्बन्धित सरोकारवाला पक्षहरूको उपस्थिति रहेको थियो।

स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीको स्वागत मन्तव्य एवं सि.अ.न.मि. कमला लाम्टाङेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

रिब्दीकोट गाउँपालिकाभित्रका विद्यालयका ६६१ जना विद्यार्थीहरूलाई माघ २८ देखि सञ्चालन हुने एचपीभी खोप अभियानमा समावेश गरिने स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले जानकारी दिए।

राष्ट्रिय खोप अभियान २०८१ लाई सफल बनाउन सबै पक्षको सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले अभियानलाई सफल बनाउन सबै सरोकारवालालाई आग्रह गरेका छन्।

एचपीभी खोपले बच्चा तथा किशोरीहरूलाई गर्भाशय क्यान्सरलगायत विभिन्न रोगहरूबाट सुरक्षित राख्ने भएकाले यसलाई व्यापक रूपमा सफल पार्नु आवश्यक  रहेको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले  बताए । गाउँपालिकाले यस अभियानलाई प्रभावकारी बनाउन विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि संचालन गर्ने जनाएको छ।

सम्बन्धित समाचार