Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

पाल्पा – पाठेघरको मुखको क्यान्सर रोकथामका लागि रैनादेवी छहरा गाउँपालिकाले यही माघ २९ गतेदेखि फागुन ६ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ। अभियानलाई प्रभावकारी बनाउन खोप केन्द्र रहेका विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरूका लागि अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ।

श्री भैरव नवदिप माविको सभा हलमा आयोजित गोष्ठीमा २८ जना प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरू सहभागी भए। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले १०७६ किशोरीलाई एचपीभी खोप दिने योजना रहेको जानकारी दिए। खोप लगाउने कार्य विद्यालयहरूमा सहज रूपमा सञ्चालन गर्न शिक्षण संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ थियो।

छहरा स्वास्थ्य चौकीका डा. शिशिरकुमार पटेलले क्षेत्रगत रूपमा खोप लगाइने किशोरीहरूको संख्या सार्वजनिक गरे:

  • सिद्धेश्वर – ८९ जना
  • सोमादी – १५० जना
  • भुवनपोखरी – २२९ जना
  • छहरा – २३७ जना
  • मुजुङ – ५० जना
  • जुठा पौवा – १२४ जना
  • सत्यवती – १५९ जना

विद्यालयभित्र अध्ययनरत छात्राहरूलाई विद्यालयमै खोप उपलब्ध गराइनेछ भने बाहिरका किशोरीहरूलाई नजिकैको स्वास्थ्य संस्थामा वा अभियानको अन्तिम दिन खोप केन्द्रमा खोप लगाइनेछ।

शिक्षा शाखा प्रमुख निशा पाण्डेले खोपबारे समाजमा अझै पनि केही गलत धारणाहरू रहेको बताइन्। खोप सुरक्षित भएकाले अभिभावकहरूले ढुक्क भएर आफ्ना छोरीहरूलाई खोप लगाउन सहजीकरण गर्नुपर्ने उनको भनाइ थियो। शिक्षण संस्थाहरूले मात्र नभई स्थानीय तह, स्वास्थ्यकर्मी, र अभिभावकहरूबीच सहकार्य आवश्यक देखिन्छ।

यस अभियानले किशोरीहरूको स्वास्थ्य सुरक्षामा मात्र नभई महिला सशक्तीकरणमा पनि टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। समयमै उचित खोप उपलब्ध गराइएन भने पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्न सक्ने हुँदा स्वास्थ्य सचेतनाका कार्यक्रमहरूलाई प्राथमिकता दिनु आवश्यक  रहेको  रानाले बताए ।

सम्बन्धित समाचार