पाल्पा – रैनादेवी छहरा गाउँपालिकाले भूमिसम्बन्धी समस्या समाधानका लागि एक औपचारिक कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा भूमि समस्या समाधान आयोग, जिल्ला समिति पाल्पाका अध्यक्ष रामबहादुर कार्की लाई गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराई ले मायाको चिनो प्रदान गरी स्वागत गरे।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भट्टराईले रैनादेवी छहरा गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी सम्बन्धी समस्याबारे जानकारी गराउँदै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन, प्रमाणिकरण तथा नापनक्सा गर्ने कार्यको सहजीकरण गर्न अनुरोध गरे।
भूमि समस्या समाधान आयोग, पाल्पाका अध्यक्ष रामबहादुर कार्कीले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने कार्यलाई व्यवस्थित गर्न स्थानीय तहमार्फत लगत संकलन गरी जिल्ला भरका तथ्यांकको आधारमा रैनादेवी छहरा गाउँपालिकाबाट औपचारिक रूपमा काम सुरु गरिने जानकारी गराए।
गाउँपालिकाको तथ्यांक अनुसार हालसम्म विभिन्न वडाहरूमा पहिचान भएका अव्यवस्थित बसोबासीहरूको विवरण छः
- सिद्धेश्वर – १७४
- सोमादी – ४७
- भुवनपोखरी – ४८
- छहरा – १०९
- मुझुङ – ८३
- जुठापौवा – ११९
- बल्डेङगढी – १७३
- सत्यवती – ३२६
गाउँपालिका भर करिब १,१०० भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान भइसकेको छ।
सरकारले लामो समयदेखि समाधान नहुने समस्याका रूपमा रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन भूमि समस्या समाधान आयोग गठन गरी कार्य अघि बढाएको छ।
अन्तरक्रिया कार्यक्रममा रैनादेवी छहरा गाउँपालिकाका वडाध्यक्षहरू, कर्मचारी, स्थानीय समाजसेवीहरू तथा सरोकारवालाहरू को उपस्थिति रहेको थियो।
























