Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

पाल्पा – माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले ल्याएका अध्यादेशको सशक्त प्रतिवाद गर्ने बताएका छन्। उनले अध्यादेश जारी गर्ने प्रक्रिया स्वयं अलोकतान्त्रिक, निरङ्कुश र स्वेच्छाचारी भएको दाबी गर्दै सरकारका गलत क्रियाकलापविरुद्ध खबरदारी गर्ने चेतावनी दिए।

शनिबार प्रेस सेन्टर नेपाल पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वगृहमन्त्री तथा उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सरकारले ल्याएका कतिपय अध्यादेशहरू देश र जनताको हितविरुद्ध रहेको उल्लेख गरे। उनले संसद्मा अध्यादेशविरुद्ध सशक्त प्रतिवाद गर्ने माओवादीको तयारी रहेको जानकारी गराए। उनका अनुसार, सरकारले निश्चित मितिमा अध्यादेश स्वीकार वा अस्वीकार गर्ने प्रक्रिया ढिलाइ गरेकाले त्यसको प्रतिवाद गर्नु आवश्यक छ।

श्रेष्ठले राष्ट्रिय कार्यभार पूरा गर्न सबै प्रतिपक्षी शक्तिलाई मिलाएर अघि बढ्ने माओवादीको रणनीति रहेको बताए। उनले भने, “सरकारले गरेका राम्रा कामहरूको समर्थन गर्न तयार छौं, तर गलत कामको सशक्त प्रतिवाद गरिनेछ।” साथै, सरकारको मुख्य कार्यभार सुशासन, समृद्धि र सामाजिक न्याय स्थापना गर्नु भए तापनि सरकारले सत्ता सञ्चालनको गलत तरिका अपनाएको उनको आरोप छ।

उनका अनुसार, विशिष्ट परिस्थितिमा मात्र अध्यादेश ल्याउने संसदीय अभ्यास भए पनि संसद् सुचारु हुने अवस्थामा समेत सरकारले अध्यादेश जारी गरी अलोकतान्त्रिक चरित्र देखाएको छ। उनले संसद् नचलेको अवस्थामा मात्र अध्यादेश ल्याइने प्रावधान रहेको स्मरण गराउँदै सरकारको यस्तो कदम अस्वीकार्य भएको उल्लेख गरे।

श्रेष्ठले माओवादी अब सडक र सदन दुबै क्षेत्रमा जनताको मुद्दा स्थापित गर्न लागिपर्ने बताए। विगतमा माओवादी नेतृत्वको सरकारले केही सकारात्मक परिवर्तन गरेको भए पनि ती पर्याप्त नभएकाले अब नयाँ अभियान सुरु गरिएको उनले जनाए।

उनले देशभर पार्टी पुनर्गठन अभियान चलाइएको जानकारी गराउँदै जनताको चाहनाअनुसारको पार्टी निर्माण गर्न माओवादीले नयाँ रणनीति अवलम्बन गरिरहेको बताए।

सम्बन्धित समाचार