पाल्पा-रैनादेवी छहरा गाउँपालिकाले पालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई मासिक रूपमा तलब भत्ता दिने निर्णय गरेको छ। यसअघि चौमासिक वा त्रैमासिक रूपमा तलब निकासा गरिँदै आएकोमा अबदेखि मासिक रूपमा शिक्षकहरूले तलब पाउने भएका छन्।
शिक्षा शाखा प्रमुख निशा पाण्डेका अनुसार शिक्षकहरूको तलब भुक्तानीका लागि तेस्रो त्रैमासिक तलब तथा पोसाक बापतको रकम निकासा गर्न विद्यालयहरूले माघ मसान्तभित्र आवश्यक फारम पेश गर्नुपर्ने छ। गाउँपालिकाले विद्यालयहरूको खातामा त्रैमासिक रूपमा एकमुष्ठ रकम पठाउने र विद्यालयहरूले शिक्षकहरूलाई मासिक रूपमा तलब वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिइएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई शिक्षकहरूको मासिक तलब भत्ता कार्यान्वयनका लागि सबै स्थानीय तहमा परिपत्र गर्न मन्त्रिस्तरीय निर्णयबाट अनुरोध गरेको थियो। सोही अनुरूप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनअनुसार शिक्षकहरूले काम गरेबापत पाउने तलब भत्ता रोक्का नराखी मासिक रूपमा भुक्तानी गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको थियो।
मासिक रूपमा तलब भत्ता प्राप्त हुने भएपछि शिक्षक कर्मचारीहरू खुशी भएका छन्। यसअघि चौमासिक वा त्रैमासिक रूपमा तलब निकासा गर्दा शिक्षकहरूलाई आर्थिक रूपमा असहज हुने गुनासो उठ्दै आएको थियो। गाउँपालिकाले शिक्षकहरूको हितलाई ध्यानमा राख्दै मासिक भुक्तानीको व्यवस्था लागू गरेपछि शिक्षक तथा विद्यालय प्रशासनले पनि स्वागत गरेका छन्।























