पाल्पा – रैनादेवी छहरा गाउँपालिका–२, सोमादी वडाले जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै कम्बल वितरण गरेको छ। सोमबार वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा विक्रम सम्वत २००७ साल पूर्व जन्मेका १० जना जेष्ठ नागरिकलाई सम्मान गर्दै कम्बल प्रदान गरिएको हो।
वडाका जेष्ठ नागरिकप्रति सम्मान र स्नेह प्रकट गर्दै वडा कार्यालयका सहायक मुक्तिराम पोखरेलले यस वर्ष २००७ सालभन्दा अगाडि जन्मेका नागरिकलाई छनोट गरिएको जानकारी दिए।
कार्यक्रममा सम्मानित नुराकला राउतले वृद्धवृद्धाप्रति वडाले देखाएको माया र अपनत्वले हर्षित बनाएको बताइन्। वडा अध्यक्ष दानबहादुर पौडेलले चुनावअघि वृद्धहरूलाई छोरा सरह माया गर्ने वाचा गरेको स्मरण गर्दै आफूले त्यस जिम्मेवारी पूरा गरेको बताए। उनले भने, “वृद्धहरूलाई सम्मान गर्न पाउँदा म अत्यन्तै हर्षित छु। मेरो कार्यकालभरि सधैं उहाँहरूको आशीर्वाद लिनेछु।
” यस्तै, सम्मानित टिकाराम पोखरेलले वडा कार्यालयबाट पाएको माया र सम्मानले आफू निकै खुशी भएको बताए। उनले भने, “छोराछोरीले भन्दा पनि वडाले हामीलाई धेरै माया गरेको छ। यसका लागि म वडा कार्यालयप्रति आभारी छु।”
























