Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

पाल्पा-जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीमा एम्बुलेन्ससहितको बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्न सहज भएको छ।

भुवनपोखरी भूगोलका हिसाबले ठूलो क्षेत्र भएकोले विशेष गरी गर्भवती महिलाहरूलाई नियमित स्वास्थ्य परीक्षण गराउन कठिनाइ भइरहेको अवस्थामा दक्ष नर्सिङ स्वास्थ्यकर्मी सहितको बर्थिङ सेन्टर स्थापना भएपछि स्थानीयहरू लाभान्वित भएका छन्। यस बर्थिङ सेन्टर सञ्चालन भएपछि गर्भवती महिलाहरूले नियमित स्वास्थ्य जाँच, सुत्केरी सेवाका साथै आकस्मिक अवस्थामा पनि सहजै सेवा लिन सक्ने भएका छन्।

वडास्तरमै बर्थिङ सेन्टरसहितको सेवा सञ्चालन भएपछि स्थानीयवासीहरूले समय र खर्च दुवैको बचत गर्न सक्ने उल्लेख गरेका छन्। विशेष गरी विपन्न तथा गरिब परिवारका महिलाहरूलाई सुत्केरी सेवाका लागि अन्यत्र जानु नपर्ने भएपछि यो सेवा प्रभावकारी बनेको छ। गाउँपालिकाका अध्यक्ष रुक्मागंत भट्टराईले एम्बुलेन्स सेवा सुरु गरिएपछि आपत्कालीन अवस्थामा अस्पताल पुग्न सहज हुने बताउँदै चुनावी प्रतिज्ञाहरू क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता जनाएका छन्।

नयाँ बर्थिङ सेन्टरमा आधुनिक प्रसूति सेवाका सामग्रीहरू उपलब्ध गराइएको छ, जसले सुरक्षित सुत्केरी सेवामा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ। वडाध्यक्ष प्रदीप पौडेलका अनुसार चौबिसै घण्टा सञ्चालनमा रहने एम्बुलेन्स सेवाले आकस्मिक अवस्थामा बिरामीलाई सहजै नजिकको स्वास्थ्य संस्थामा लैजान सहयोग गर्नेछ।

बर्थिङ सेन्टर उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, स्वास्थ्य शाखा प्रमुख जीवन राना, इन्जिनियर किशोर खनाल, जिन्सी शाखा प्रमुख प्रकाश केसी, वडाका जनप्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सञ्चालन कार्यालय सहायक गिरिराज पौडेलले गरेका थिए।

सम्बन्धित समाचार