Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

पाल्पा-पाल्पाको माडी फाँट रिङरोड निर्माण परियोजनाले नयाँ गति लिएको छ। सरकारबाट यस वर्ष थप ५ करोड रुपैयाँ बजेट विनियोजन भई टेन्डर समेत प्रकाशित भइसकेको छ। पूर्व सांसद सोम प्रसाद पान्देका अनुसार, २०५२ सालमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारी समक्ष माडी फाँटमा रिङरोड निर्माणको माग प्रस्तुत गरिएको थियो।

त्यसै अनुरूप, २०५२/५३ को बजेटमा स्थानीय विकास कार्यक्रम अन्तर्गत २ लाख रुपैयाँ विनियोजन भई पक्लुहाबाट निर्माण थालिएको थियो। परियोजनाको अवधारणाअनुसार, खेत क्षेत्रभन्दा ५०० मिटर माथि रिङरोड निर्माण गरी करिब ३५ कि.मि. क्षेत्रमा व्यवस्थित बस्ती बसाउने लक्ष्य राखिएको थियो। विगतमा निरन्तर रूपमा सीमित बजेट विनियोजन हुँदै आए पनि, २०६९ सालमा तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीका पालामा २ करोड रुपैयाँ प्राप्त भएको थियो।

सोही योजनालाई निरन्तरता दिँदै, गत वर्ष सरकारले १ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको थियो। गत कार्तिक महिनामा गरिएको सडक निरीक्षणपछि थप बजेटको आवश्यकताबारे छलफल भएको थियो। सोही अनुरूप, सडक डिभिजन कार्यालय पाल्पाको माग र भौतिक पूर्वाधार मन्त्रालयसँग गरिएको अनुरोधपछि ५ करोड रुपैयाँ थप बजेट स्वीकृत भएको छ।

यसले रिङरोड निर्माण कार्यलाई तीव्रता दिने अपेक्षा गरिएको छ। यसलाई सफल बनाउन योगदान पुर्याउने सबै सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गर्दै, पूर्व सांसद पान्देले यस विकासले माडी फाँट क्षेत्रको समग्र प्रगति र व्यवस्थित बसोबासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचार