Palpa Dainik
सोमबार, भाद्र २९, २०८३  |  September 14, 2026
×

पाल्पा-रैनादेवी छहरा गाउँपालिकाका किसानहरूका लागि सुन्तला खेती मुख्य आम्दानीको स्रोत बन्दै गएको छ। गाउँपालिकाभित्र करिब ५०० घरपरिवारले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन्। सुन्तलाबाट वार्षिक रूपमा करिब ८ देखि १० करोड रुपैयाँसम्मको आम्दानी हुँदै आएको छ।

परम्परागत खेती प्रणालीभन्दा फरक सोच राख्दै यहाँका किसानहरूले व्यावसायिक रूपमा सुन्तला खेती गर्न थालेका छन्। अन्नवाली उत्पादन हुने बारी तथा खरेनमा समेत सुन्तला खेती विस्तार हुँदा क्षेत्र नै हरियाली देखिएको छ।

रैनादेवी छहरा गाउँपालिका–४ अम्लाबासका वृद्धिमान बरालले आफ्नो घर नजिकै सुन्तलाको बगान विस्तार गरेका छन्। उनका १७० वटा बोटमा सुन्तला फलिरहेको छ। “माघ महिनाको पहिलो हप्तासम्म सुन्तलाले राम्रो मूल्य पाउँछ,” उनले भने, “सुन्तला व्यवसायीहरू किसानकै बगानमा किनमेल गर्न आउँदा फाइदा भएको छ।”

रैनादेवी छहरा गाउँपालिका–४ का अर्का किसान होमनाथ कँडेलका अनुसार उर्वर माटो, अनुकूल मौसम, उचित व्यवस्थापन, जैविक मल र सिंचाइको उचित प्रयोगले यहाँ उत्पादन हुने सुन्तला उच्च गुणस्तरको हुन्छ। स्थानीय किसानहरूले न्यूनतम ५ लाखदेखि २० लाख रुपैयाँसम्म वार्षिक आम्दानी गर्न सफल भएका छन्।

सुन्तलाको गुणस्तर र साइजअनुसार मूल्य निर्धारण गरिएको छ। “यहाँ प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बिक्री मूल्य तोकिएको छ,” सुन्तला संकलक मनबहादुर बगालेले जानकारी दिए। पाल्पा तथा अर्घाखाँचीको पूर्वी भेगबाट बुटवल, नारायणगढ लगायतका शहरमा सुन्तला निर्यात भइरहेको छ।

सुन्तला खेतीलाई प्रवर्द्धन गर्न रैनादेवी छहरा गाउँपालिकाले किसानहरूलाई मल, प्रविधिक ज्ञान तथा गुणस्तरीय विरुवा उपलब्ध गराइरहेको गाउँपालिका अध्यक्ष रुकमांगत भट्टराईले बताए।

उनका अनुसार, “सुन्तला खेतीलाई अझै प्रभावकारी बनाउन जैविक मल र वैज्ञानिक खेती प्रविधि आवश्यक छ। किसानलाई थप प्रविधिक सहायता र नीति निर्माणमा स्थानीय, प्रदेश तथा संघीय सरकारको सहयोग महत्वपूर्ण हुनेछ।”

सम्बन्धित समाचार