पाल्पा-जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ का किसानहरू व्यवसायिक रूपमा पालेका बाख्रामा पिपीआर रोग देखिएपछि चिन्तित बनेका छन्।
पालिकाको पशु शाखाका प्रमुख गीता नेपालीका अनुसार ३५० भन्दा बढी बाख्रामा एकैपटक यो रोग देखापरेको छ। माघ २५ गते मरेको बाख्राको नमूना परीक्षण गर्दा नवलपरासीस्थित प्रदेश पशुरोग अन्वेषण प्रयोगशालाले पिपीआर रोग पुष्टि गरेको हो।वडा नम्बर ४ मा पनि यस्तै लक्षण देखिए तापनि त्यसको पुष्टिको हुन सकेको छैन ।
हालसम्म पालिकामा १५ भन्दा बढी बाख्रा मरेका छन् भने ३५० भन्दा बढी बिरामी परेका छन्। पशु शाखा प्रमुख नेपालीका अनुसार रोग प्रमाणित भएपछि उपचार प्रक्रिया अगाडि बढाइएको छ। बाख्रा मर्ने दर केही घट्दै गएको भए पनि रोग रोकथामको निश्चितता अझै छैन।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गा प्रसाद खनालले ५० हजार रुपैयाँ बराबरको औषधि उपलब्ध गराइएको जानकारी दिए। साथै, वडा नम्बर ६ र ८ को ठीमुरे क्षेत्रमा आवश्यक औषधि र परीक्षण किट प्रदान गरिएको छ। रोग नियन्त्रणका लागि फिल्डस्तरमा थप अध्ययन तथा उपचार गरिने योजना रहेको उनले बताए।
पिपीआर अत्यन्त सङ्क्रामक महामारी रोग हो, जसले विशेष गरी तीन महिना देखि दुई वर्षसम्मका बाख्रालाई बढी असर गर्छ। रोग लागेमा बाख्रामा ज्वरो, छेर्ने, मुखमा घाउ, निमोनिया जस्ता लक्षण देखिन्छन्। संक्रमण फैलिएमा २०(९० प्रतिशत बाख्रा मर्न सक्ने जोखिम रहन्छ।
प्रभावित क्षेत्रमा खोपको आवश्यकता देखिएको छ। प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका प्रमुख डा.प्रवेश सिंह कुँवरका अनुसार चैतको पहिलो हप्तासम्म खोप उपलब्ध गराउने तयारी छ। तत्काल आवश्यकता परेमा संघीय स्तरबाट पनि खोपको व्यवस्था गरिने उनले जानकारी दिए।
रिब्दीकोट गाउँपालिकाबाट प्रत्येक वर्ष ८,००० देखि ८,५०० खसी बोका बिक्री हुँदै आएको छ। रेडा पाल्पाका प्राविधिक मिना खड्काका अनुसार पालिकामा ३,५०० भन्दा बढी व्यवसायिक किसान छन्। पशु स्वास्थ्य शाखा प्रमुख गीता नेपालीका अनुसार विगतका वर्षहरूमा खोप लगाउने कारण बाख्रा मर्ने दर कम थियो, तर हालको महामारीले ठूलो असर पुर्याएको छ।
रोग नियन्त्रणका लागि स्थानीय सरकार, प्रदेश सरकार तथा पशु विशेषज्ञहरू समन्वय गरेर आवश्यक खोप, औषधि र उपचार सेवा उपलब्ध गराउने प्रयास गरिरहेका छन्। किसानहरूलाई सावधानी अपनाउन र खोप लगाउन सल्लाह दिइएको छ।
























