Palpa Dainik
सोमबार, जेठ ११, २०८३  |  May 25, 2026
×

पाल्पा-जिल्लाको रामपुर नगरपालिकामा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ। रामपुर नगरपालिकाको आयोजना तथा दरैठाँटी माध्यमिक विद्यालयको व्यवस्थापनमा सम्पन्न प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो। रामपुर नगरपालिका–६, विजयपुरस्थित दरैठाँटी माविको खेल मैदानमा आयोजित प्रतियोगिताको एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले प्रतियोगिताले विद्यार्थीहरूको अन्तरनिहित खेल प्रतिभा पहिचान गर्ने र खेलाडी उत्पादनमा टेवा पुग्ने बताइन्। उनले रामपुर नगरपालिकाले खेलकुद क्षेत्रको उत्थानका लागि भौतिक पूर्वाधार निर्माण, तालिम सञ्चालन तथा उत्कृष्ट खेलाडीलाई सम्मान गर्दै आएको जानकारी दिइन्।

दरैठाँटी माविका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले विगतको स्वरूप परिवर्तन गर्दै यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराइने बताए। नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले खेल क्षेत्रको विकासका लागि वार्षिक मात्र नभई नियमित रुपमा खेलकुद गतिविधिहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले खेलमा जित मात्र नभई सिक्ने अवसर पनि महत्वपूर्ण रहेको बताए।

प्रतियोगितामा रामपुर नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत गरी २० विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका छन्। एथ्लेटिक्स, भलिबल, कबड्डी र मार्सल आर्ट गरी २७ इभेन्टमा छात्र र छात्राहरूले प्रतिस्पर्धा गर्ने छन्। नगर शिक्षा अधिकृत विकल काफ्लेले प्रतियोगिताबाट छनोट भएका विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी गराए। विगतमा विजेता विद्यालयलाई नगद, रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिँदै आएकोमा यस वर्ष भने प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई मात्र पुरस्कृत गरिने उनले बताए।

कार्यक्रम कार्यवाहक नगर प्रमुख एवं उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन स्थानीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका सदस्य दिपेन्द्र भट्टराईले गरेका थिए।

सम्बन्धित समाचार