पाल्पा– बुटवल–तानसेन सडकखण्डमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको काम तीव्र गतिमा अगाडि बढेको छ। केही महिनाअघि सुरुङमार्गको अन्तिम छेदन (ब्रेक थ्रु) भएसँगै यसले थप गति लिएको हो। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा खण्डमा यो सुरुङमार्ग निर्माण भइरहेको छ।
सुरुङमार्ग निर्माण आयोजनाका अनुसार, हालसम्म ५७.५१ प्रतिशत भौतिक प्रगति र ५१.१ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। आयोजना कार्यालयकी इन्जिनियर सविता ज्ञवालीका अनुसार, मुख्य टनेलको भुइँ भागमा १ हजार ८९ मिटर ढलान (इन्भर्ट) को काम सकिएको छ। यस्तै, दायाँबायाँ लेपन (लाइनिङ) को ८३४ मिटर काम सम्पन्न भइसकेको छ र अहिले २९२ मिटरमा लाइनिङको काम जारी छ।
सुरुङमार्गमा तीन वटा बाइपास छन्, जसमध्ये पहिलो १५१ मिटर, दोस्रो १६१ मिटर र तेस्रो १३० मिटर लामो छ। पहिलो बाइपासमा १४५ मिटर इन्भर्ट र १२४ मिटर लाइनिङको काम सकिएको छ भने तेस्रो बाइपासमा १२५ मिटर इन्भर्ट र ३० मिटर लाइनिङको काम सम्पन्न भएको छ।
आयोजना प्रमुख कृष्णराज अधिकारीका अनुसार, दुई लेनको मुख्य सुरुङमार्ग १ हजार ८९ मिटर लम्बाइको हुनेछ, जसको चौडाइ साढे १० मिटर र उचाइ करिब सात मिटर रहनेछ। इन्भर्ट र लाइनिङको काम सकिएपछि १-२ महिनाभित्र लाइटिङ, सञ्चार तथा सुरक्षा उपकरण जडानको काम सुरु गरिने उनले बताए। अहिले मुख्य सुरुङमार्गमा अत्यावश्यक सवारी साधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको छ। जनप्रतिनिधि, सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला पक्षबाट सुरुङमार्गको कार्य प्रगतिबारे नियमित अनुगमन भइरहेको छ।
प्रतिनिधि सभाका सांसद ठाकुरप्रसाद गैरेले सुरुङमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नका लागि आवश्यक सहयोग र अनुगमनका लागि आएको बताए। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट १ हजार १२६ मिटर सुरुङमार्गको निर्माण २०७९ सालमा सुरु भएको हो।
यो आयोजना चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा निर्माण गरिरहेको छ, र २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्मको क्षेत्र अत्यधिक पहिरो जाने जोखिमपूर्ण मानिन्छ। इन्जिनियर ज्ञवालीका अनुसार, सुक्खायाममा समेत धुलेपहिरो खस्ने भएकाले यस सडकखण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो। यो सडकखण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विगतका निर्वाचनमा सिद्धबाबामा सुरुङमार्ग निर्माण गर्ने कुरालाई चुनावी एजेन्डा बनाएका थिए र उनकै पहलमा बजेटको स्रोत सुनिश्चितता भई आयोजना अघि बढेको थियो।























