पाल्पा– पाल्पा जिल्लाका दशवटै स्थानीय तहले विनियोजित कुल बजेटको १ अर्ब २४ करोड ६१ लाख रुपैयाँ फिर्ता गरेका छन्। आर्थिक वर्ष २०८१/८२ मा दश स्थानीय तहका लागि कुल ६ अर्ब ८९ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा ५ अर्ब ६४ करोड ५७ लाख रुपैयाँ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाले जनाएको छ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख शशीन्द्र खातीका अनुसार, चालुतर्फ विनियोजित ४ अर्ब ३८ करोड ८० लाख रुपैयाँमध्ये ३ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ (८६ प्रतिशत) खर्च भएको छ। यस्तै, पूँजीगततर्फ विनियोजित २ अर्ब ५० करो ३८ लाख रुपैयाँमध्ये १ अर्ब ८४ करोड ८० लाख रुपैयाँ (७३ प्रतिशत) खर्च भएको छ।
सबैभन्दा कम विकास खर्च (पूँजीगत खर्च) गर्ने पालिकाहरूमा निस्दी गाउँपालिका र तानसेन नगरपालिका रहेका छन्। निस्दी गाउँपालिकाले विकास बजेटको ६७ प्रतिशत मात्र खर्च गरेको छ भने तानसेन नगरपालिकाले ६६ प्रतिशत मात्र खर्च गरेको छ।
विकास खर्चतर्फ सबैभन्दा बढी खर्च गर्ने पालिका बगनासकाली गाउँपालिका बनेको छ, जसले ८६ प्रतिशत बजेट खर्च गरेको छ। समग्र बजेट खर्चमा पनि बगनासकाली गाउँपालिका नै अगाडि रहेको छ।
अन्य पालिकाहरूको पूँजीगत खर्च प्रतिशत यस प्रकार छ:
- रामपुर नगरपालिका: ७९ प्रतिशत
- पूर्वखोला गाउँपालिका: ७७ प्रतिशत
- तिनाउ गाउँपालिका: ७७ प्रतिशत
- माथागढी गाउँपालिका: ८० प्रतिशत
- रम्भा गाउँपालिका: ८१ प्रतिशत
- रिव्दीकोट गाउँपालिका: ८० प्रतिशत
- रैनादेवी छहरा गाउँपालिका: ७३ प्रतिशत
स्थानीय तहहरूका अनुसार, उपभोक्ता समितिले सञ्चालन गरेका अधिकांश योजनाहरू सम्पन्न भएका छन्। तर, निर्माण व्यवसायीमार्फत गरिएका विकास निर्माणका काममा भने खासै प्रगति नहुँदा रकम खर्च हुन नसकेको पालिकाहरूले बताएका छन्। पाल्पाका अधिकांश पालिकामा दश लाखभन्दा बढीका योजनाहरू निर्माण व्यवसायीमार्फत गराइएका छन्।























