पाल्पा- जिल्ला प्रशासन कार्यालय पाल्पा र इलाका प्रशासन कार्यालय रामपुरले गत आर्थिक वर्ष २०८१/०८२ मा करिब १९ हजार जनालाई नागरिकता वितरण गरेका छन्। यस अवधिमा गैरआवासीय र अंगीकृतसहित कुल १८ हजार ९ सय ६२ जनालाई नागरिकता प्रमाणपत्र जारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीका अनुसार जिल्ला प्रशासन कार्यालयबाट १४ हजार ९ सय ३ वटा र इलाका प्रशासन कार्यालयबाट ४ हजार ५९ वटा वंशजका आधारमा नागरिकता जारी गरिएको छ। तानसेनमा पत्रकारसँगको छलफलमा उनले गत वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यो जानकारी दिएका हुन्।
सोही अवधिमा १७ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन्। सबैभन्दा धेरै आठ जनाले अमेरिकाको नागरिकता लिएका छन् भने तीन जनाले बेलायत र तीन जनाले अस्ट्रेलियाको नागरिकता लिएका छन्। त्यस्तै, एक/एक जनाले भारत, हङकङ र इटालीको नागरिकता लिएको प्रजिअ सुवेदीले बताए। नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० लागू भएपछि गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था सुरु भएको थियो। गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सम्बन्धित वडाको सिफारिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता वा नागरिक भएको प्रमाण, र हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गर्नुपर्ने व्यवस्था छ। गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको प्रजिअ सुवेदीले जानकारी दिए। “गैरआवासीय नागरिकताको बारेमा चासो राख्दै विदेशमा रहेका नेपाली तथा उहाँहरूका आफन्त कार्यालयमा आउने गर्नुभएको छ,” उनले भने। पाल्पामा पहिलो पटक २०८० मंसिरमा तानसेन नगरपालिका–४ सिल्खानटोलका १९ वर्षीय फेलिक्स बज्राचार्यले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए।
यसैगरी, सोही अवधिमा १२ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन्। यसका साथै, ६ हजार ९ सय ९८ वटा नागरिकता प्रमाणपत्रको प्रतिलिपि समेत जारी भएको छ। जिल्ला प्रशासन कार्यालयबाट १७ जनाले नागरिकता त्याग गरेका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीका अनुसार सोही अवधिमा ८ हजार ९ सय ४१ वटा राहदानी वितरण गरिएको छ भने ८ हजार ७७ वटा राहदानीका लागि सिफारिस गरिएको छ। यो तथ्याङ्क जिल्ला प्रशासन कार्यालयको मात्र हो। इलाका प्रशासन कार्यालय रामपुरमा पनि सोही अवधिमा ८ सय ६६ वटा राहदानी वितरण गरिएको छ।
अन्य सेवातर्फ, जिल्ला प्रशासन कार्यालयबाट २ सय ५५ नाबालक परिचय पत्र र ५ हजार ७७ वटा राष्ट्रिय परिचयपत्र वितरण भएको छ। इलाका प्रशासन कार्यालयबाट ५१ वटा नाबालक परिचय पत्र र ३ हजार २ सय २४ वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ।
























