Palpa Dainik
आइतबार, जेठ १०, २०८३  |  May 24, 2026
×

इमानसिं राना

पाल्पा । ७३ वर्षीय पार्वती ठाडाले गीत सुरु गर्नु भएसँगै साथमा रहनु भएका ज्येष्ठ महिला तथा अन्य महिलाले एउटै लयमा गीत गाईरहेका छन् । नौ जना कन्या किशोरी लहरै समान हाउभाउमा नाचिरहेका छन् ।

वैशाख पूर्णिमादेखि पाल्पाको निस्दी गाउँपालिका–४, भोर्मामा निकालिएको घाटु नाचको दृश्य हो यो । सदियौंदेखि सुरु भएको घाटु जिल्लाको पूर्वी क्षेत्रका मगर समुदायले निरन्तरता दिँदैआएको छ । घाटुका गुरुआमा रहनु भएका ठाडाले पुस्तौंदेखि चल्दैआएको घाटु नाचलाई निरन्तरता दिँदै आएको बताए ।

 

 

 

 

निस्दी गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीले पुराना मौलिक संस्कृतिको संरक्षणका लागि पालिकाले पहल गर्दैआएको बताउनुभयो । निस्दी–७, को ज्यामिरेमा पूर्णिमाको दिन घाटु सेलाइसके पनि सोमबारदेखि निस्दीको वडा ३, ४, ५ का केही टोलहरूमा घाटु नाचको रौनक छाएको छ ।

सती घाटु वैशाख पूर्णिमाको दिनबाट विधिपूर्वक सुरु गरिने नाच याहाँ ३ दिनसम्म नचाइन्छ । कथा गीतमार्फत प्रस्तुत गरी घाटुसरीलाई नचाएर सेलाउने गरिन्छ । तीन प्रकारका घाटु प्रचलनमा रहे पनि यस क्षेत्रमा सती घाटु नाच्ने गर्दछन् । सोमबारदेखि सुरु भएको घाटुनाच बुधबार साँझ विधिवत् रूपमा पूजागरी सेलाइँदै छ । घाटु नचाइने स्थानहरुमा अवलोकनका लागि जानेहरूको उपस्थिति देखिन्छ ।

विगतमा निस्दी–५ को छ स्थानमा घाटु नचाइने गरे पनि अहिले बेलौजी, बाङ्लाङ्, गाबुडाँडा र खरकडाँडामा मात्र नाच्ने गरिएको छ । निस्दीको वडा नं। ३ को दुनीडाँडा–४ को भोर्मा, मौलाथर, भिरपानी, वडा–७ को ज्यामिरेमा पनि यस वर्ष घाटु नचाइएको छ । पूर्वखोला गाउँपालिकाको जल्पा, देवीनगर, विरकोट लगायतका स्थानमा घाटु नचाइन्छ ।

सम्बन्धित समाचार