पाल्पा-पाल्पाको तिनाउ गाउँपालिकामा रहेको प्रसिद्ध सत्यवती तालमा लागेको मेलामा यस वर्ष करिब ४० लाख रुपैयाँ भेटी संकलन भएको छ। चिच्याएर वर माग्ने अनौठो प्रचलनका लागि प्रख्यात यस मेलामा ठूलो सङ्ख्यामा श्रद्धालुहरूको उपस्थिति रहेको थियो।
तिहारपछिको पूर्णिमामा पाँच दिनसम्म चलेको मेलामा भेटी गणना कार्य सम्पन्न हुँदा ३९ लाख ७७ हजार रुपैयाँ आम्दानी भएको छ।
तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार संकलित भेटीको सदुपयोग गर्दै गाउँपालिकाले उचित र आवश्यक काममा प्रयोग गर्नेछ। भेटी गणना गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, समितिका प्रतिनिधि र सुरक्षाकर्मीको रोहबरमा गरिएको थियो।
पाल्पामा सबैभन्दा धेरै जनसहभागिता हुने यस सत्यवती मेलामा यस वर्ष झन्डै ३ लाखभन्दा बढी श्रद्धालुले ताल र सत्यवती बज्यै मन्दिरको दर्शन गरेका थिए। गत वर्ष तालमा लागेको मेलाबाट ३२ लाख ८१ हजार ८ सय ७० रुपैयाँ दान तथा भेटी संकलन भएको थियो। यस वर्ष भेटीको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ।
किन चिच्याएर वर माग्ने ?
सत्यवती बज्यैले कानले नसुन्ने भएकाले मध्यरातमा चिच्याएर वर माग्ने प्रचलन रहेको जनविश्वास छ। परापूर्व कालमा सत्यवती बज्यै सत्यको खोजीमा घना जङ्गलको बिच भागमा आई तपस्या गरेर शक्ति प्राप्त गरेको मानिन्छ। भक्तजनले चिच्याएर वर मागेमा मनोकामना पूरा हुने र त्यसपछि भाकल अनुसारको बली दिने प्रचलन पनि रहेको छ।























