Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

पाल्पा-रिब्दीकोट गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत ८ दिने उद्यमशीलता विकास तालिम भएको छ। रिब्दीकोट-३ स्थित सरस्वती बहुमुखी क्याम्पस, खस्यौलीको भवनमा आयोजित एक कार्यक्रमका बीच तालिमको औपचारिक समुद्घाटन गरिएको हो।

तालिमको उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले तालिममा सहभागीहरूलाई यहाँबाट प्राप्त गरेको ज्ञान र सीपलाई केवल प्रमाणपत्रमा सीमित नराखी व्यावहारिक रूपमा प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले सीपलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बन्न र अर्थोपार्जनको बाटोमा लाग्न सहभागीहरूलाई प्रोत्साहन दिनुभयो।

त्यसैगरी, गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी र प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले तालिमबाट प्राप्त सीपलाई व्यावसायिक रूप दिन जोड दिनुभयो। उहाँहरूले रिब्दीकोटबासी नागरिकको आर्थिक जीवनस्तर उकास्न र उद्यमशील वातावरण निर्माण गर्न गाउँपालिका सधैं नागरिकको साथमा रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि र कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो । रिब्दीकोट गाउँपालिकाका सबै वडाहरूबाट छनोट भएका सम्भावित उद्यमीहरूको सहभागिता रहेको छ।

प्रशासकीय अधिकृत रुकलाल भट्टराईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा मेडपा सहजकर्ता मेनुका बस्नेतले तालिमको सहजीकरण गरिरहनुभएको छ। ८ दिनसम्म चल्ने यस तालिममा सहभागीहरूलाई नयाँ व्यवसाय कसरी सुरु गर्ने, बजार व्यवस्थापन कसरी गर्ने र व्यवसायलाई दिगो कसरी बनाउने भन्ने विषयमा गहन प्रशिक्षण दिइनेछ।

सम्बन्धित समाचार