Palpa Dainik
मंगलबार, भाद्र ३०, २०८३  |  September 15, 2026
×

पाल्पा- माथागढी गाउँपालिकाको आयोजनामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत अगुवा कृषकहरूका लागि रासायनिक विषादी न्यूनीकरण तथा वैकल्पिक उपाय अवलम्बन सम्बन्धी तालिम सम्पन्न भएको छ। मानव स्वास्थ्य र वातावरणमा रासायनिक विषादीले पार्ने नकारात्मक प्रभाव कम गर्दै दिगो कृषि अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिममा गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले उत्पादन बढाउने नाममा विषादीको बढ्दो प्रयोगले माटो, पानी र मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याएको बताउनुभयो। उहाँले भन्नुभयो, “विषदीको विकल्प खोजेर जैविक र सुरक्षित खेती प्रणाली अपनाउनु नै अबको आवश्यकता हो।”

त्यसैगरी उपाध्यक्ष विष्णु माया लुङ्चेले सुरक्षित खाद्य उत्पादनले मात्रै पोषणको लक्ष्य हासिल हुने बताउनुभयो। आर्थिक विकास समिति संयोजक तेजबहादुर घर्ती मगरले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न र अन्य कृषकहरू माझ पनि पुर्‍याउन सहभागीहरूलाई आग्रह गर्नुभयो।

तालिममा कृषि अधिकृत समीक्षा ढकाल र कृषि प्राविधिक शशी विष्टले रासायनिक विषादीका असर, सुरक्षित प्रयोग विधि र एकीकृत कीट व्यवस्थापन प्रणालीका बारेमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा वडा सदस्य मानबहादुर रानाले पनि तालिमको महत्वबारे चर्चा गर्नुभएको थियो भने पोषण सहजकर्ता देउकी माया बयम्बूले कार्यक्रमको उद्देश्य र उपलब्धिका बारेमा जानकारी दिनुभयो।

सम्बन्धित समाचार