Palpa Dainik
सोमबार, जेठ ११, २०८३  |  May 25, 2026
×

पाल्पा-तिनाउ गाउँपालिकाले स्थानीय पर्यटन र कृषिलाई जोड्दै ‘होमस्टे’ (घरबास) व्यवसायलाई उच्च प्राथमिकतामा राखेको छ। गाउँमै रोजगारी सिर्जना गर्ने र विशेषगरी महिलाहरूलाई आर्थिक रूपमा स्वावलम्बी बनाउने उद्देश्यले पालिकाले तालिम, बीउ र पुँजी सहयोग कार्यक्रमलाई तीव्रता दिएको हो।

गाउँपालिकाले होमस्टे सञ्चालनका लागि आवश्यक सीप प्रदान गर्नुका साथै व्यावसायिक उत्पादनका लागि सामग्रीहरू पनि वितरण गरेको छ। लुम्बिनी प्रदेश सरकारको ‘मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम’ अन्तर्गत हालै ३० जनालाई लोकल कुखुरा, २८ जनालाई बङ्गुरको पाठो, र अन्य सहभागीलाई बाख्रा, आधुनिक मौरी घार तथा सिँचाइका सामग्री वितरण गरिएको छ।

प्राकृतिक रूपमा मनोरम मरामकोट र जन्तीलुङ्ग क्षेत्र अहिले पर्यटकका लागि प्रमुख गन्तव्य बन्दै गएका छन्। पालिका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार, हाल मरामकोटमा ५ र जन्तीलुङ्गमा १२ घरमा होमस्टे सञ्चालनमा छन्। उहाँले भन्नुभयो, “हिमालदेखि तराईसम्म देखिने यी क्षेत्रलाई हामीले आम्दानीको स्रोत बनाउने लक्ष्य राखेका छौँ।”

गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले होमस्टेबाट एकै परिवारले मासिक लाखौँ रुपैयाँसम्म कमाउन सक्ने सम्भावना रहेको बताउनुभयो। त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले पर्यटनमार्फत स्थानीय स्तरमा रोजगारी बढाउन पालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्बन्धित समाचार