पाल्पा-निस्दी गाउँपालिकामा सञ्चालन भएको स्थानीय तह स्तरीय सातौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। माघ १० गतेदेखि निस्दी–४ स्थित झ्याल्टुङ खेलमैदानमा सुरु भएको प्रतियोगिता माघ १२ गते समापन गरिएको हो।
प्रतियोगितामा निस्दी गाउँपालिकाभरिका १२ वटा माध्यमिक विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो। कडा प्रतिस्पर्धाका बीच अंशुवर्मा माध्यमिक विद्यालय (निस्दी–२, सहलकोट) समग्र पदक तालिकामा प्रथम हुन सफल भएको छ। अंशुवर्माले ५ स्वर्ण, ३ रजत र १ कास्य गरी कुल ९ पदक प्राप्त गर्दै रनिङ्ग शिल्डको उपाधि हात पारेको हो।
त्यसैगरी, गौरीशंकर माध्यमिक विद्यालय (निस्दी–४, मित्याल) ले ४ स्वर्ण, १ रजत र ८ कास्य गरी कुल १३ पदक जित्दै द्वितीय स्थान हासिल गरेको छ। पदक संख्या धेरै भए तापनि स्वर्ण पदकका आधारमा गौरीशंकर दोस्रो स्थानमा समेटिएको हो। यस्तै, जनता माध्यमिक विद्यालय (निस्दी–५, गल्धा) ३ स्वर्ण, १ रजत र २ कास्य सहित कुल ६ पदक जितेर तृतीय भएको छ।
गाउँपालिकाका अनुसार यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै उनीहरूको शारीरिक स्वास्थ्य, मानसिक विकास र आपसी सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ।























