पाल्पा-लुम्बिनी प्रदेशसभाको मंगलबार बसेको हिउँदे अधिवेशनको दोस्रो बैठकमा दुई विधेयक पेस भएका छन् ।
सरकारका तर्फबाट प्रदेश सभामा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका लागि पेस गरेका छन् ।
त्यस्तै स्वास्थ्यमन्त्री खेम सारुले प्रदेश जीवनासक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेस गरेका हुन् । त्यस्तै प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको कार्यालयबाट पुर्नविचारका लागि फिर्ता आएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक छलफलका लागि पुन: पेस भएको छ ।
सरकारका तर्फबाट भौतिक पूर्वधार विकासमन्त्री भूमीश्वर ढकालले विधेयक पेस गरेका थिए । सभामुख तुलाराम घर्ती मगरले विधेयकमाथि सैद्धान्तिक प्रस्तावका लागि निर्णयार्थ प्रस्तुत गरेका थिए । ध्वनिमतका आधारमा विधेयक माथिको सैद्धान्तिक छलफलको प्रस्ताव पारित भएपछि तुलसीराम शर्माले विधेयक माथि सुझाव दिएका थिए ।
मन्त्री ढकालले प्रदेशका विभिन्न क्षेत्रहरुको अनुसन्धान गरेर त्यसका सम्भावना बुझ्ने र कानुन बनाएर कार्यान्वयन गर्ने गरी विधेयक ल्याइएको जवाफ दिएका थिए। सरकारका तर्फबाट त्यसलाई केही परिमार्जन गर्नु पर्ने देखिएकाले सुझावसहित फिर्ता आएको र त्यसमा सरकारले विचार गरी सैद्धान्तिक छलफलमा पेश गरिएको जवाफपछि विधेयक माथिको संशोधनका लागि ७२ घण्टाको समय उपलब्ध गराईएको सभामा जानकारी गराइएको थियो ।























