पाल्पा-पाल्पाको रिब्दीकोट गाउँपालिकामा सञ्चालित जैविक मल उद्योगको स्तरोन्नति र उत्पादन क्षमता वृद्धिका लागि त्रिपक्षीय समझदारी भएको छ । गाउँपालिकाको वडा नं. ५, कुसुमखोलामा रहेको प्राङ्गारिक मल उद्योगलाई आधुनिकिकरण गर्दै जैविक मलको प्रवर्धन गर्न रिब्दीकोट गाउँपालिका, हेफर प्रोजेक्ट इन्टरनेशनल नेपाल र जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच सम्झौता भएको हो ।
समझदारी पत्रमा गाउँपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल, हेफर प्रोजेक्टका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मी र जलेश्वर बहुउद्देश्यीय सहकारीका अध्यक्ष शिव कुँवरले हस्ताक्षर गर्नुभएको छ ।
हस्ताक्षर कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले दिगो कृषिका लागि जैविक मलको आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “माटोको उर्वराशक्ति बचाउन र कृषकको लागत घटाउन यो उद्योग कोसेढुङ्गा सावित हुनेछ । रासायनिक मलको परनिर्भरता तोड्न स्थानीय स्रोतको उपयोग नै आजको आवश्यकता हो ।”
हेफर प्रोजेक्टका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मीले वन क्षेत्रका जैविक अवशेषको उचित व्यवस्थापन नहुँदा डढेलोको जोखिम बढिरहेको सन्दर्भमा यो कार्यक्रमले डढेलो न्यूनीकरणमा समेत सघाउने बताउनुभयो । जैविक मलले मानव, माटो र वातावरणको स्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने उहाँको विश्वास छ ।
त्यस्तै, हेफरका बजार विकास लिड डा. राज कुमार अधिकारीले उद्योगको गुणस्तर सुधार्दै स्थानीय हरित अर्थतन्त्र निर्माणमा सहयोग पुर्याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।
६९ लाख रुपैयाँको त्रिपक्षीय लगानी, उद्योगको सञ्चालन र व्यवस्थापनको मुख्य जिम्मेवारी जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले सम्हाल्नेछ ।प्राविधिक सहयोग हेफर प्रोजेक्ट र गाउँपालिकाले प्राविधिक सीप, क्षमता अभिवृद्धि र समन्वयको भूमिका निर्वाह गर्नेछन् ।
यो स्तरोन्नतिसँगै रिब्दीकोटका कृषकहरूले सुलभ मूल्यमा गुणस्तरीय जैविक मल पाउने र स्थानीय स्तरमा रोजगारीका अवसरहरू समेत सिर्जना हुने अपेक्षा गरिएको छ ।























