Palpa Dainik
आइतबार, जेठ १०, २०८३  |  May 24, 2026
×

गुल्मी । सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मी जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी’ (HPV) खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय गुल्मीका अनुसार जिल्लाभरका २ हजार ४६५ जना किशोरीलाई यो खोप दिने लक्ष्य राखिएको छ।

अभियानको पूर्वसन्ध्यामा सदरमुकाम तम्घासमा खोप समन्वय समितिको अभिमुखीकरण तथा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले राज्यले प्रतिडोज ९ हजार रुपैयाँभन्दा बढी पर्ने खोप नि:शुल्क उपलब्ध गराएको भन्दै यसको महत्व बुझ्न आग्रह गर्नुभयो।”यो अवसरलाई खेर जान नदिई लक्षित समूहका सबै किशोरीलाई अनिवार्य खोप लगाउन अभिभावक र विद्यालयले विशेष ध्यान दिनुपर्छ,” प्रमुख खत्रीले भन्नुभयो।

माघ २५ गतेदेखि फागुन ४ गतेसम्म जिल्लाका २०७ वटा विद्यालयमा खोप केन्द्र स्थापना गरिने छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत १०-१४ वर्षका किशोरीहरू खोप कार्यक्रममा सहभागी हुनेछन् । विद्यालय बाहिर रहेका सोही उमेर समूहका किशोरीहरूलाई पनि खोपको पहुँचमा ल्याइने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्कीले जानकारी दिनुभयो।

जनस्वास्थ्य निरीक्षक गोपालबहादुर कार्कीका अनुसार पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अत्यन्तै प्रभावकारी मानिन्छ। समयमै यो खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेख्य रूपमा घट्ने भएकाले यसलाई विशेष प्राथमिकतामा राखिएको हो।

स्वास्थ्य कार्यालयले खोप अभियानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जनाउँदै समुदायलाई सक्रिय सहभागिताका लागि अपिल गरेको छ।

सम्बन्धित समाचार