पाल्पा-पाल्पाको रिब्दीकोट गाउँपालिकामा व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यका साथ कृषकहरूलाई उन्नत जातको अकबरे खुर्सानीको बीउ वितरण गरिएको छ। ग्रामीण आर्थिक विकास संघको आयोजना, हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र रिब्दीकोट कृषि परियोजनाको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो। वडाभित्रका २०० किसानलाई एक देखि चार रोपनी सम्म खेती गर्न पुग्ने १० ग्राम देखि ४० ग्रामसम्म खुर्सानीको बीउ वितरण गरेको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन र कृषकको आयआर्जन वृद्धि गर्न अकबरे खुर्सानी खेतीले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्राप्त बीउको सही सदुपयोग गरी व्यावसायिक उत्पादनमा लाग्न कृषकहरूलाई आग्रह समेत गर्नुभयो।
गाउँपालिकाका केही वडाहरूमा वितरण कार्य सम्पन्न भइसकेको र बाँकी रहेका वडाहरूमा पनि छिट्टै वितरण गरिने योजना रहेको छ ।
अकबरे खुर्सानीको बजार माग राम्रो रहेको र गाउँमै उन्नत बीउ प्राप्त भएपछि स्थानीय किसानहरू हर्षित भएका छन्। यस कार्यक्रमले परम्परागत खेती प्रणालीलाई विस्थापन गरी नगदे बालीतर्फ कृषकलाई आकर्षित गर्ने अपेक्षा गरिएको वडाध्यक्ष कुँवरले बताउनुभयो । रिब्दीकोट गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष दान बहादुर कुवँरको अध्यक्षतामा वडा कार्यालय पालुङ मैनादी बतासेमा आयोजित कृषकहरूलाई बीउ हस्तान्तरण गरियो।























