पाल्पा-रैनादेवी छहरा गाउँपालिकामा सहिद दिवसको पावन अवसर पारेर अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। “सहिदको बलिदान, हाम्रो दायित्व” शीर्षकमा आयोजित उक्त प्रतियोगितामा गाउँपालिकाभित्रका ६ वटा माध्यमिक विद्यालयका छात्रछात्राहरूले सहभागिता जनाएका थिए।
प्रतियोगितामा भैरव नवद्विप माध्यमिक विद्यालयकी छात्रा राशी पोखरेलले उत्कृष्ट प्रस्तुतिसहित प्रथम स्थान हासिल गर्नुभएको छ। त्यसैगरी, जोगवाणी माध्यमिक विद्यालयका छात्र सुमित अर्याल द्वितीय, कालिका माध्यमिक विद्यालयकी छात्रा सेलिना रायमाझी तृतीय र रैनादेवी माध्यमिक विद्यालयकी छात्रा समीक्षा वि.क.ले सान्त्वना स्थान प्राप्त गर्न सफल हुनुभएको छ।
कविताहरूको प्राविधिक पक्ष र गुणस्तर मूल्याङ्कनका लागि निर्णायकको भूमिकामा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर राम रेग्मी तथा माउन्ट भ्याली इङ्ग्लिस स्कुलका प्रिन्सिपल प्रेमराज खराल रहनुभएको थियो।
सामाजिक विकास समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत जिवन रानाले स्वागत मन्तव्य राख्दै सहिदहरूको बलिदानले नै आजको परिवर्तन सम्भव भएको बताउनुभयो। उहाँले सहिदहरूको सपना साकार पार्न र उनीहरूका त्यागप्रतिको जिम्मेवारीलाई व्यवहारमा उतार्न विद्यार्थी तथा युवा पुस्ताको महत्त्वपूर्ण भूमिका रहने कुरामा जोड दिनुभयो।
शिक्षा शाखा प्रमुख तेज बहादुर कुमालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय जनप्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूले आफ्ना रचनामार्फत सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै देशप्रेम र समृद्धिको भावना व्यक्त गरेका थिए।
























