पाल्पा-नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सोमप्रसाद पाण्डेयले आफ्नो उम्मेदवारी पाल्पाली जनताको चाहना र भावनाको कदर स्वरूप भएको बताउनुभएको छ।
पाल्पाको तानसेन नगरपालिका वडा नम्बर २ का मतदाताहरूसँगको भेटघाटमा उहाँले मतदाताको अपार माया र साथका कारण आफूले उम्मेदवारी दिएको उल्लेख गर्दै यसपालिको निर्वाचनमा आफ्नो पक्षमा भारी मतका साथ विजय सुनिश्चित हुने दाबी गर्नुभयो।
नेकपाका केन्द्रीय नेता पाण्डेयले आफू पाल्पाली जनताको माया र सद्भावको ऋणी रहेको उल्लेख गर्दै आफ्नो बाँकी जीवन पूर्ण रूपमा पाल्पाको सेवा र विकासमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले निर्वाचन पछि पनि आफू पाल्पाली जनताकै भावना र मार्गनिर्देशन अनुसार अगाडि बढ्ने कुरामा जोड दिनुभयो। आफूले विगतमा गरेका कामहरूको स्मरण गर्दै उहाँले पाल्पाको विकासका लागि आफू जस्तोसुकै चुनौती मोल्न तयार रहेको बताउनुभयो।
सिद्धार्थराजमार्ग अन्तरगत पाल्पा र बुटवल जोड्ने महत्वपूर्ण तथा बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि आफूले निरन्तर पहल गरेको उहाँले स्मरण गराउनुभयो। सुरुङमार्गको बजेट सुनिश्चित गर्नका लागि आफू सदनमा अनसन बस्नेसम्मको चेतावनी दिएको र सोही दबाबका कारण आज सुरुङमार्गको काम सम्पन्न हुने अवस्थामा रहेको उहाँले दाबी गर्नुभयो। पाल्पाको आर्थिक र सामाजिक रूपान्तरणका लागि ठूला पूर्वाधारका योजनाहरू समयमै सम्पन्न गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको उहाँको भनाइ थियो।
स्थानीयबासिन्दाहरूले पाण्डेयलाई आफ्ना समस्याहरू सुनाउँदै विकासका अधुरा कामहरू पूरा गर्न आग्रह गरेका थिए। पाण्डेयले जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको बताउँदै पाल्पाको भविष्य उज्यालो बनाउन आफू सधैँ तत्पर रहने विश्वास दिलाउनुभयो। नेकपाको प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्र २ पाल्पाको प्रचारप्रसार कार्यालय, तानसेन नगरपालिका २ नम्वर वडामा स्थापना गरिएको छ ।























