पाल्पा- नेपाली कम्युनिष्ट पार्टी तानसेन नगर समितिको आयोजनामा ३१ औं जनयुद्ध दिवस २०८२ को अवसरमा सहिद परिवारलाई सम्मान गरिएको छ। तानसेन नगरपालिकाभित्रका सहिदहरूको उच्च सम्मान गर्दै आयोजित उक्त कार्यक्रममा सहिद परिवारका आफन्तहरूलाई सम्मानपत्र प्रदान गरिनुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको हो। जनयुद्धको जगमा नै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्था प्राप्त भएको थियो ।
सहिद परिवारलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता सोम प्रसाद पाण्डेयले मुलुकको समृद्धि नै अहिलेको मुख्य अभिभारा भएको बताउनुभयो। पाल्पा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनुभएका पाण्डेयले नेपाली जनताको चाहना र भावना पूरा गर्नु नै एउटा मात्र अर्जुनदृष्टि रहेको उल्लेख गर्नुभयो। उहाँले आफूहरू सधैं जनताको सेवामा समर्पित रहने प्रतिबद्धता जनाउँदै यसपटक भारी मतका साथ विजयी हुने विश्वास समेत व्यक्त गर्नुभयो।
त्यसैगरी नेकपाकी समानुपातिक उम्मेदवार पार्वती विश्वकर्मा ‘सामना’ले सुशासन र समृद्धिका लागि नेकपाको विकल्प नभएको दाबी गर्नुभयो। उहाँले १० वर्षे जनयुद्धदेखि ‘जेनजी’ आन्दोलनसम्ममा ज्यान गुमाउने सम्पूर्ण सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नेत्र प्रसाद पाण्डेयले देशभर नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित गर्न कार्यकर्ताहरूले विशेष मेहनत गर्नुपर्नेमा जोड दिनुभयो। नेकपा पाल्पाका संयोजक अशोक कुमार शाहीले सहिदका अधुरा सपना पूरा गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो।
नेकपा तानसेन नगर समितिकी अध्यक्ष प्रतिक्षा सिजाली गाहाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य नगर समितिका उपाध्यक्ष युवराज पन्तले राख्नुभएको थियो। कार्यक्रमको औपचारिक सञ्चालन भने नगर सचिव नवराज बस्याल ‘बादल’ले गर्नुभएको थियो।























