Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

बुटवल । प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४९औँ स्मृति दिवसको पूर्वसन्ध्यामा नेपाल मगर युवा संघ रुपन्देहीको आयोजनामा बृहत् रक्तदान कार्यक्रम–२०८२ सम्पन्न भएको छ। बुटवलमा आयोजित उक्त कार्यक्रममा सहभागी युवाहरूबाट संकलित ४१ युनिट रगत नेपाल रेडक्रस सोसाइटी बुटवललाई हस्तान्तरण गरिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं नेपाल मगर युवा संघका केन्द्रीय महासचिव तथा सार्वभौम नागरिक पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार राम अस्लामी मगरले सहभागी युवालाई ब्लड ब्याग हस्तान्तरण गरेर रक्त संकलन कार्यको शुभारम्भ गरेका थिए। सो अवसरमा बोल्दै महासचिव मगरले नेपाल मगर युवा संघ रुपन्देहीले वर्षेनी गर्दै आएको यस्तो पुण्य कार्यको उच्च प्रशंसा गरे। उनले रक्तदान र मतदान दुवै राष्ट्रका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको चर्चा गर्दै अस्पतालको शैयामा मृत्युसँग लडिरहेका बिरामीलाई बचाउन एक थोपा रगतले ठूलो भूमिका खेल्ने बताए।

महासचिव मगरले रगतले जीवन बचाए जस्तै आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा सही र सक्षम उम्मेदवार छनौट गरी मतदान गर्न अपिल गरे। उनले देशको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै “जलिरहेको देश” जोगाउन युवाहरूको अमूल्य मतदान अपरिहार्य रहेकोमा जोड दिए।

दिउँसो १ बजेदेखि सुरु भएको कार्यक्रममा संघका केन्द्रीय सदस्य डिबी थापा, जिल्ला नगर अध्यक्ष लुम बहादुर सारु, अग्रज व्यक्तित्व वर्ण बहादुर राना, पूर्व नगर अध्यक्ष बसन्ती साठिघरे र फोनिज रुपन्देहीकी आकृति थापा मगर लगायतका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

संघका उपाध्यक्ष पहल सिंह रानामगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव खेम आलेले गरेका थिए भने कार्यक्रमको समापन अध्यक्ष हेमन्त बुढाथोकी मगरले गरेका थिए।

सम्बन्धित समाचार