Palpa Dainik
सोमबार, जेठ ११, २०८३  |  May 25, 2026
×

पाल्पा-पाल्पाको पूर्वखोला गाउँपालिका–४, देवीनगरस्थित मुन्टुङमा रहेको भीमसेन प्राथमिक विद्यालयको दृश्य केही वर्षअघिसम्म निकै निराशाजनक थियो। विद्यार्थी संख्या ह्वात्तै घटेर अस्तित्व नै संकटमा पर्न लागेको यो विद्यालय कुनै समय बन्द हुने अवस्थामा पुगेको थियो। तर, आज यो विद्यालयको परिचय फेरिएको छ। विद्यालयमा बालबालिकाको चहलपहल मात्र बढेको छैन, स्थानीय अभिभावकहरूको विश्वास र भरोसाको केन्द्र पनि बनेको छ। यस नाटकीय परिवर्तनको पछाडि एक महिलाको दृढ संकल्प र अहोरात्रको खटन लुकेको छ- विद्यालयकी प्रधानाध्यापक राधा सिके।

तीन वर्षअघि राधाले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दा विद्यालयमा जम्मा २५ जना विद्यार्थी अध्ययनरत थिए। विद्यालय सेवा क्षेत्रभित्रैका बालबालिकाहरू पनि आफ्नै गाउँको विद्यालयलाई विश्वास नगरी टाढाका अन्य विद्यालयमा धाउने गर्थे। गाउँकै शैक्षिक संस्था रित्तिँदै जाँदा गाउँलेहरूमा चिन्ता थियो। तर, राधाको आगमनपछि परिस्थिति बदलियो। उनले विद्यालयको नेतृत्व सम्हालेपछि सञ्चालन गरेको शैक्षिक सुधारको अभियानले अहिले विद्यार्थी संख्या बढाएर ६२ पुर्याएको छ। हाल कक्षा ५ सम्म र नर्सरीका बालबालिकाहरू बाहिर जानुको साटो आफ्नै गाउँको भीमसेन प्राविमा रमाउन थालेका छन्।

विद्यार्थीसँग प्रधानाध्यापक राधा सिके।

राधाको व्यवस्थापकीय कुशलता र कडा मिहिनेतले विद्यालयको आन्तरिक वातावरणमा ठूलो सुधार ल्याएको छ। उनको नेतृत्वमा अहिले ४ जना शिक्षक र २ जना बालविकास सहजकर्ताहरू कार्यरत छन्। विद्यालयलाई व्यवस्थित बनाउन उनी साढे नौ बजे नै विद्यालय पुगिसक्छिन्। प्रशासनिक कामदेखि लिएर तलब मागका लागि गरिने अनलाइन प्रणालीका झन्झटिला कामहरू उनी  कहिलेकाहीँ घरैबाट समेत पूरा गर्छिन्। “विद्यालयलाई व्यवस्थित बनाउन र शिक्षकहरूलाई सक्रिय राख्न आफैँ उदाहरण बन्नुपर्छ,” उनी भन्छिन्।

भीमसेन प्राथमिक विद्यालयकी प्रधानाध्यापक राधा सिके।

यस विद्यालयको अर्को लोभलाग्दो पक्ष भनेको अभिभावकहरूको सक्रियता हो। प्रधानाध्यापकको समर्पण देखेपछि अभिभावकहरूले पनि विद्यालयलाई आफ्नै साझा सम्पत्ति ठानेर सहयोग गर्न थालेका छन्। बालबालिकाको दिवा खाजा बनाउन अभिभावकहरू स्वयं पालो मिलाएर विद्यालय पुग्ने गरेका छन्, जसले विद्यालय र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ।

शिक्षिकासँग विद्यालयकी प्रधानाध्यापक राधा सिके।

राधाको व्यक्तिगत जीवनको यात्रा पनि कम प्रेरणादायी छैन। काफलडाँडामा आमाबुबासँग बस्दै आएकी राधाले सुरुमा लोकसेवाको तयारी गरेकी थिइन्। तर, शिक्षक सेवा आयोगको परीक्षामा पहिलो प्रयासमै सफलता हात पारेपछि सात वर्षअघि उनले प्राथमिक तहको शिक्षकका रूपमा आफ्नो यात्रा सुरु गरिन्। दलित समुदायकी छोरी भएर उनले प्राप्त गरेको यो सफलताले समाजमा रहेको जातीय र लैंगिक विभेदलाई चुनौती दिएको छ। जागिरले उनलाई आत्मनिर्भर मात्र बनाएको छैन, समाजसेवा गर्ने र परिवारलाई आर्थिक सहयोग गर्ने सामर्थ्य पनि दिएको छ। उनी भन्छिन्, “जागिर भएपछि आर्थिक रूपमा सक्षम भइयो, केही बचत गर्न र अरूलाई सहयोग गर्न पनि सफल भएकी छु।”

राधाको दैनिकी कार्यक्षेत्रमा मात्र सीमित छैन। घरको सरसफाइ, घरायसी जिम्मेवारी र सामाजिक काममा पनि उनी उत्तिकै सक्रिय छिन्। संविधानसभा सदस्य तुल्सा राना भन्छिन्, “नेपाली महिलाहरूले घर र कार्यालयको दोहोरो जिम्मेवारी अत्यन्त कुशलतापूर्वक निर्वाह गरिरहेका छन्। बिहानदेखि रातिसम्म घरायसी काममा व्यस्त रहने र दिउँसो व्यावसायिक जीवनमा पनि सफल हुने महिलाहरूको संख्या बढ्दो छ।” तर, राना महिलाहरूले घरभित्र गर्ने श्रमको आर्थिक र सामाजिक मूल्यांकन अझै हुन नसकेकोमा चिन्ता व्यक्त गर्छिन्।

भीमसेन प्राथमिक विद्यालयको फेरिएको यो तस्बिरले के पुष्टि गर्छ भने, यदि नेतृत्वमा इच्छाशक्ति र इमानदारी छ भने एउटा सानो प्रयासले पनि सिंगो समाज र संस्थालाई पुनर्जीवन दिन सकिन्छ। राधा सिकेको संघर्ष र सफलताको कथा अहिले पाल्पाका धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।

सम्बन्धित समाचार