तानसेन- पाल्पा सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा वि.क.को बलात्कारपछि हत्या गरिएको जघन्य घटनाप्रति गम्भीर आपत्ति जनाउँदै पाल्पाका दलित अधिकारवादी संगठनहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल दलित मुक्ति मोर्चा जिल्ला समिति पाल्पा र दलित मुक्ति संगठन पाल्पाले बुधबार जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत गृहमन्त्रीलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाउँदै दोषीलाई हदैसम्मको कानुनी कारबाही र पीडित परिवारलाई न्यायको माग गरेका हुन्।
सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. ६ घर भई वीरेन्द्रनगरमा बसोबास गर्दै आएकी कक्षा ११ मा अध्ययनरत इनिशा वि.क. ट्युसन पढ्न जाने क्रममा शहीद पार्क नजिकैको जङ्गल क्षेत्रमा मृत फेला परेकी थिइन्।
पीडित परिवारले उनलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कर्तव्य ज्यान तथा जबरजस्ती करणी सम्बन्धी किटानी जाहेरी दर्ता गराइसकेको छ। सोही घटनाको अनुसन्धानका क्रममा प्रहरीले हालसम्म अनमोल गौलीसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
पाल्पामा बुझाइएको ध्यानाकर्षण पत्रमा घटनाको निष्पक्ष, पारदर्शी र सत्यतथ्य छानबिन गरिनुपर्नेमा विशेष जोड दिइएको छ। दलित अधिकारकर्मीहरूले कुनै पनि राजनीतिक दबाब, प्रभाव वा पहुँचका आधारमा अपराधीलाई उम्कन नदिन सरकारसँग माग गरेका छन्।
पत्रमा पीडित परिवारलाई छिटो र प्रभावकारी न्याय सुनिश्चित गर्न, दोषीमाथि कडा कानुनी कारबाही गर्न र भविष्यमा यस्ता अमानवीय घटनाहरू दोहोरिन नदिन देशको सुरक्षा तथा कानुनी व्यवस्थालाई थप सुदृढ बनाउन समेत आग्रह गरिएको छ। समाजमा बढ्दै गएको हिंसा र असुरक्षाका विरुद्ध राज्य कठोर बन्नुपर्ने उल्लेख गर्दै संगठनहरूले यदि अनुसन्धानमा लापरवाही भएमा कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन्।























