Palpa Dainik
सोमबार, जेठ ११, २०८३  |  May 25, 2026
×

पाल्पा- नेकपा एमालेले पाल्पाको तानसेन नगर कमिटीसहित सबै १४ वटा वडा कमिटीहरू विघटन गरेको छ। मंगलबार बसेको पार्टीको बैठकले नगर र वडा तहका संरचनाहरू भंग गर्ने निर्णय गरेको हो।

गत २०८२ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तानसेन नगरभित्र पार्टीले व्यहोर्नुपरेको अप्रत्याशित र कमजोर नतिजालाई मुख्य कारण मान्दै यो कदम चालिएको बुझिएको छ।

बैठकमा तानसेन नगरपालिकाका सबै १४ वटा वडाका अध्यक्षहरूले निर्वाचनको वडागत ब्रिफिङ प्रस्तुत गरेका थिए। उनीहरूले आफ्नो क्षेत्रमा पार्टीको अवस्था, प्राप्त मत र पराजयका प्राविधिक तथा राजनीतिक कारणहरूबारे जानकारी गराएका थिए। सोही अवसरमा प्रतिनिधिसभा निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका नेता ठाकुर गैरेले चुनावी परिणाम जस्तोसुकै आए पनि आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

पार्टीले संगठनलाई नयाँ उचाइ र गति दिने उद्देश्यले आगामी जेठ ३ गते नगर अधिवेशन गर्ने निर्णय गरेको छ। मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसर पारेर नगरको नयाँ नेतृत्व चयनका लागि अधिवेशन आह्वान गरिएको हो।

सम्बन्धित समाचार