पाल्पा-इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान २०८२ तथा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा पाल्पाको रामपुर नगरपालिका वडा नम्बर ४ मा शुभकामना आदानप्रदान तथा बृहत् इफ्तार कार्यक्रम सम्पन्न भएको छ।
वडा नम्बर ४ को आयोजनामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष राम बहादुर रानाको अध्यक्षता रहेको थियो भने प्रतिनिधि सभा सदस्य सन्दिप राना प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले रमजान महिनाको धार्मिक तथा सामाजिक महत्त्व उल्लेख गर्दै नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सबै समुदायले आफ्ना परम्परा र संस्कृतिलाई सम्मानपूर्वक मनाउँदै आएको बताए।
उनले रमजान इस्लामिक पात्रो अर्थात् हिजरी पात्रोको नवौँ महिना भएको स्पष्ट पार्दै यस अवधिमा मुस्लिम समुदायले रोजा बस्ने र महिनाको समाप्तिपछि ईद उल–फितर पर्व उल्लासका साथ मनाउने परम्परा रहेको जानकारी दिए। ईदका दिन नयाँ लुगा लगाउने, मिठाइ बाँड्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलनले सामाजिक सद्भाव मजबुत बनाउने उनको भनाइ थियो।
कार्यक्रम वडा सदस्य महमद ताजिम शेखको स्वागत मन्तव्यबाट सुरु भएको थियो। उनले पाल्पा बहुजातीय सहअस्तित्वको उदाहरण भएको उल्लेख गर्दै सबैले आ–आफ्ना संस्कृति र परम्परालाई सम्मानपूर्वक मनाउनु सकारात्मक पक्ष भएको बताए।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले गरिब तथा विपन्न समुदायका लागि सहयोग गर्ने संस्कारलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिँदै आफ्नो आम्दानीको एक अंश सामाजिक सेवामा लगाउनु अत्यन्तै महत्वपूर्ण कार्य भएको धारणा व्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति ज्ञान बहादुर गाहा, मुस्लिम संघका केन्द्रीय उपसभापति हुजिलदिन मिया तथा केन्द्रीय सचिव रैहि मुल्लालगायत वक्ताहरूले मुस्लिम समुदायका अधिकार, धार्मिक धरोहरको संरक्षण तथा शान्ति सुरक्षाका विषयमा आ–आफ्ना धारणा राखेका थिए। त्यसैगरी हमिद अली मिया र भिमसेन टोल विकास संस्थाका अध्यक्ष धन बहादुर श्रेष्ठले पनि शुभकामना व्यक्त गरेका थिए।
वडा सदस्य मोहन सी. रानाले सञ्चालन गरेको कार्यक्रममा विभिन्न समुदायका स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।























