Palpa Dainik
मंगलबार, जेठ १२, २०८३  |  May 26, 2026
×

सुर्खेत – सुर्खेतको गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर–१ मा बसोबास गर्दै आएकी कक्षा ११ मा अध्ययनरत इनिशा विकको हत्या भएपछि न्यायका लागि चौतर्फी दबाब बढ्न थालेको हो ।

गत फागुन २३ गते बिहान करिब ८ बजे ट्युसन पढ्न भनी घरबाट निस्केकी इनिशाको शव वीरेन्द्रनगरस्थित शहीद पार्क नजिकैको जंगलमा फेला परेको थियो । पीडित परिवारले उनलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा किटानी जाहेरी दर्ता गराएका छन् । यस जघन्य अपराधको अनुसन्धानका क्रममा प्रहरीले अनमोल गौलि सहित चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ ।

यसैबीच, सामाजिक संस्था सारथी नेपाल पाल्पाले प्रेस विज्ञप्ति जारी गर्दै यस घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संस्थाकी अध्यक्ष विष्णु माया थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनालाई अत्यन्त दुःखद, अमानवीय र जघन्य भन्दै कडा शब्दमा भत्र्सना गरिएको छ ।

सारथी नेपालले घटनाको निष्पक्ष, पारदर्शी र सत्यतथ्य छानबिन गर्न माग गर्दै कुनै पनि राजनीतिक दबाब, प्रभाव वा पहुँचका आधारमा दोषीलाई उन्मुक्ति नदिन सरकार र प्रशासनलाई सचेत गराएको छ। विज्ञप्तिमा दोषी जोकोही भए पनि उनीहरूलाई तत्काल कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न जोडदार माग गरिएको छ।

सम्बन्धित समाचार