Palpa Dainik
शुक्रबार, जेठ ०८, २०८३  |  May 22, 2026
×

पाल्पा-काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हालै सम्पन्न २५औँ आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता तथा दोस्रो अण्डर १५ स्कुल आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा पाल्पाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको गौरव बढाएका छन्। यही वैशाख ४ र ५ गते सञ्चालित उक्त प्रतियोगितामा पाल्पाका मार्सल आर्ट्स खेलाडीहरूले आफ्नो कौशल प्रदर्शन गर्दै कुल ११ पदक हात पार्न सफल भएका हुन्।

प्रतियोगितामा पाल्पाका लागि कसुमी थापाले दुईवटा स्वर्ण पदक जितेर मुख्य सफलता दिलाइन्। उनले महिलातर्फको एकल स्पायरिङ अन्तर्गत ४०–४५ केजी समूह र रातोपेटी प्याटर्न दुवै विधामा स्वर्ण पदक जितेकी हुन्। पाल्पाको पदक तालिकामा ५ रजत पदक थपिएका छन्, जसमा सनम घर्तीले २०–२५ केजी एकल स्पायरिङ र हरियोपेटी प्याटर्नमा रजत हात पारे भने दीपा सारुले हरियोपेटी प्याटर्नमा सफलता पाइन्। त्यसैगरी, रोशनी थापा र एञ्जल रेग्मीले ग्रुप स्पेरिङमा तथा कविता रानाले ७५ केजीभन्दा माथिको तौल समूहमा रजत पदक प्राप्त गरे।

कास्य पदकतर्फ दीपा सारुले महिला २०–२५ केजी एकल स्पायरिङमा, रोशनी थापाले ५५–६० केजी एकल स्पायरिङमा र रञ्जित दर्लामीले कालोपेटी प्याटर्न तथा ५०–५५ केजी एकल स्पायरिङ गरी दुई विधामा पदक जितेका छन्। पाल्पा आईटीएफ तेक्वान्दो संघका उपाध्यक्ष एवं पाँचौँ डान कृष्ण थापाका अनुसार पाल्पाली खेलाडीहरूले विगतका राष्ट्रिय प्रतियोगिताहरूमा पनि निरन्तर राम्रो नतिजा निकाल्दै आएका छन्। यसअघि रोल्पामा भएको २३औँ राष्ट्रिय प्रतियोगितामा पनि पाल्पाले २ स्वर्णसहित ७ पदक जितेको थियो।

यसपटकको प्रतियोगितामा संघका उपाध्यक्ष कृष्ण थापाले निर्णायक (रेफ्री) को रूपमा समेत कुशलतापूर्वक भूमिका निर्वाह गरेका थिए। सीमित स्रोत र साधनका बाबजुद मोफसलका खेलाडीहरूले राष्ट्रिय स्तरको रङ्गशालामा देखाएको यो प्रदर्शनले पाल्पामा तेक्वान्दो खेलको भविष्य उज्ज्वल रहेको पुष्टि गरेको छ। खेलाडीहरूको यो सफलताले जिल्लाका अन्य उदीयमान खेलाडीहरूलाई समेत उर्जा प्रदान गरेको छ।

सम्बन्धित समाचार