पाल्पा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाल्पाको माथागढी गाउँपालिकामा आफ्नो सांगठनिक उपस्थितिलाई बलियो बनाउँदै गाउँपालिका तदर्थ समिति गठन गरेको छ। जिल्लाभर संगठन विस्तार गर्ने अभियानअन्तर्गत माथागढीका ८ वटै वडामा समिति गठन गर्ने र आगामी पालिका अधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारीसहित ११ सदस्यीय समिति चयन गरिएको हो।
नवनिर्मित समितिको संयोजकमा लेखनाथ न्यौपाने र सह-संयोजकमा दिपेन्द्र गाहा (झमन) चयन हुनुभएको छ। समितिका अन्य सदस्यहरूमा शेरबहादुर बिक, शंकर काफ्ले, भिमबहादुर सारु, पिताम्बर तिमिल्सेना, श्रीधर घर्ति र अर्जुन सुनार रहनुभएको छ। समितिका बाँकी सदस्यहरू आगामी बैठकबाट मनोनयन गरिने रास्वपाले जनाएको छ।
जिल्ला सभापति बिष्णु भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त प्रारम्भिक भेलामा माथागढी–१, चिदीपानीका वडा अध्यक्ष एवं युवा नेता राजकुमार पन्थीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नेता पन्थीले पुराना राजनीतिक दलहरूको अहंकार र भ्रष्टाचारका विरुद्ध नयाँ राजनीतिक लहर (जेन्जी मुभमेन्ट) आवश्यक रहेको बताउनुभयो। उहाँले परिवर्तन र विकासका लागि नयाँ शक्तिमा आवद्ध हुन सम्पूर्ण पालिकाबासीलाई आग्रह गर्दै माथागढी क्षेत्रमा विद्यमान टेलिफोन नेटवर्क, विद्युत् र यातायातका समस्या समाधानका लागि आफूले केन्द्र तथा प्रदेश सरकारसँग पहल गरिरहेको जानकारी दिनुभयो।
त्यसैगरी, जिल्ला सभापति भण्डारीले पार्टीको संगठनलाई गाउँ-गाउँसम्म पुर्याउने योजनाअनुरूप माथागढीमा पहिलो कदम चालिएको स्पष्ट पार्नुभयो। उहाँले माथागढीमा प्राकृतिक स्रोत र साधनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै त्यसको सही परिचालन र विकासमा रास्वपाले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।























