Palpa Dainik
सोमबार, जेठ ११, २०८३  |  May 25, 2026
×

खस्यौली- रिब्दीकोट गाउँपालिकाका ज्येष्ठ नागरिकहरूलाई संगठित गर्दै उनीहरूको हकहित र संरक्षणका लागि गाउँपालिका स्तरीय ज्येष्ठ नागरिक संघ गठन गरिएको छ।

ज्येष्ठ नागरिक संघ पाल्पाको आयोजना तथा रिब्दीकोट गाउँपालिकाको सहजीकरणमा सोमबार खस्यौलीस्थित गाउँ कार्यपालिकाको कार्यालयमा सम्पन्न भेलाले गोविन्द बहादुर आचार्यको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

ज्येष्ठ नागरिक जीवनाथ खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले ज्येष्ठ नागरिकहरू समाजका पथप्रदर्शक र अमूल्य गहना भएको बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकको अनुभव र ज्ञानलाई नयाँ पुस्ताले आत्मसाथ गर्नुपर्नेमा जोड दिँदै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। सो अवसरमा अध्यक्ष कार्कीले नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई टीका लगाएर सम्मान समेत गर्नुभएको थियो।

कार्यक्रममा पाल्पा जिल्ला ज्येष्ठ नागरिक संघका अध्यक्ष देवराज ढकाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत रुकलाल भट्टराई, जिल्ला ज्येष्ठ नागरिक संघका सदस्य खड्ग बहादुर थापा र रिब्दीकोट वडा नम्बर २ का वडा अध्यक्ष ओम प्रसाद पोखरेलको विशिष्ट आतिथ्यता रहेको थियो। वक्ताहरूले ज्येष्ठ नागरिकको सम्मान र अधिकार सुनिश्चित गर्न यस्ता संगठनको भूमिका महत्त्वपूर्ण रहने धारणा राख्नुभएको थियो।

पाल्पा जिल्ला ज्येष्ठ नागरिक संघका सदस्य खड्ग बहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन रोजगार सहायक शिव प्रसाद पोखरेलले गर्नुभएको थियो। भेलामा गाउँपालिका भित्रका विभिन्न वडाबाट ज्येष्ठ नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

सम्बन्धित समाचार