Palpa Dainik
शुक्रबार, जेठ ०८, २०८३  |  May 22, 2026
×

पाल्पा-तिनाउ गाउँपालिकाले नागरिकको सेवालाई सरल र सहज बनाउने उद्देश्यका साथ वडा नं. १ को कचलमा एक बृहत एकीकृत घुम्ती शिविर सफलतापूर्वक सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजनामा सञ्चालित यस शिविरले विशेषगरी ज्येष्ठ नागरिक, कृषक र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूलाई प्रत्यक्ष राहत पुर्‍याएको छ ।

स्वास्थ्य सेवातर्फ शिविरमा ४६ जना ज्येष्ठ नागरिकको आँखा परीक्षण गरी उनीहरूलाई आवश्यक पर्ने औषधी निःशुल्क वितरण गरिएको थियो । साथै, नसर्ने रोगहरूको बढ्दो जोखिमलाई ध्यानमा राख्दै ३३ जना सेवाग्राहीको हाडजोर्नी, सुगर, प्रेसर र ग्यास्ट्रिक जस्ता समस्याका लागि आयुर्वेदिक औषधी तथा परामर्श प्रदान गरियो ।

कृषि र पशुपालनलाई मुख्य पेसा बनाएका स्थानीयका लागि शिविर निकै फलदायी रह्यो । ८० जना कृषकका काँक्रा, फर्सी, टमाटर र सिमी जस्ता बालीमा लागेका रोगहरूको पहिचान गरी उपचारका लागि आवश्यक विषादी प्रदान गरियो । त्यसैगरी पशु सेवातर्फ ८३ जना कृषकका ६४० कुखुरा, ४२० बाख्रा, ५७ भैँसी, २० बंगुर र १७ गाई-गोरु गरी ठुलो संख्यामा पशुचौपायाका लागि निःशुल्क औषधी वितरण गरिएको छ ।

शिविरमा १५२ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । यसका साथै, सामाजिक सुरक्षा भत्ता वितरणलाई थप व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउने नेपाल सरकारको नीति अनुसार ८४ जना लाभग्राहीको बायोमेट्रिक (औँठाछाप) संकलन गरी उनीहरूलाई घटना दर्ता र सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा आबद्ध गरिएको छ । दुर्गम गाउँमै पुगेर स्वास्थ्य, कृषि र बैंकिङ सेवा एकै स्थानबाट प्रदान गरिएपछि स्थानीय बासिन्दाहरू निकै हर्षित भएका छन्

सम्बन्धित समाचार