Palpa Dainik
बुधबार, साउन १३, २०८३  |  July 29, 2026
×

पाल्पा-पाल्पाको माथागढी गाउँपालिका वडा नं ४ स्थित केरौलीफेदीका स्थानीय बासिन्दाहरूले कुडहरखोलामा सञ्चालन हुन लागेको कल्भर्ट निर्माण योजना तत्काल रोक्न माग गर्दै विरोध जनाएका छन्।

प्रदेश सभाबाट विनियोजित १० लाख रुपैयाँ बराबरको बजेटलाई वास्तविक आवश्यकता भएको स्थानमा प्रयोग नगरी केही सीमित व्यक्तिलाई मात्र लाभ पुग्ने गरी विनियोजन गरिएको भन्दै स्थानीयले आयोजना स्थगित गर्न माथागढी गाउँपालिकाको ध्यानाकर्षण गराएका हुन्।

आनन्दनगर, केरौलीफेदी र देवीनगर जोड्ने मुख्य बाटोमा पर्ने ढाक्रेबास खोलामा कल्भर्ट नहुँदा वर्षेनी वर्षायाममा ७० घरधुरीले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ। यस्तो गम्भीर समस्यालाई नजरअन्दाज गर्दै केवल दुई घरपरिवारलाई मात्र फाइदा हुने गरी कुडहरखोलामा आयोजना लैजानु अन्यायपूर्ण र असमान भएको स्थानीयको ठहर छ।

स्थानीय बासिन्दाहरूले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख भएअनुसार, गत वैशाख १२ गते सोझासाझा नागरिकलाई दबाबमा पारी गरिएको निर्णय आफूहरूलाई मान्य नहुने र उक्त निर्णय जालझेलपूर्ण रहेको दाबी गरिएको छ।

आम भेला र सार्वजनिक छलफल नै नगरी गुपचुप रूपमा योजना अगाडि बढाइएकोमा आक्रोश व्यक्त गर्दै स्थानीयले तत्काल योजना परिमार्जन गर्न दबाब दिएका छन्। सबै घरधुरीलाई समान रूपमा सडक सुविधा पुग्ने गरी समावेशी र निष्पक्ष ढंगले बजेट परिचालन हुनुपर्ने उनीहरूको मुख्य माग रहेको स्थानीय हरि चौहानको भनाई छ।

माग सुनुवाइ नगरेमा र योजना स्थगित गरी पुनः सार्वजनिक भेलाबाट सर्वसम्मत निर्णय नलिएमा स्थानीयवासीहरू सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ। यस विवादले गर्दा हाल सो क्षेत्रमा विकास निर्माणका कार्यमा अन्योलता सिर्जना हुनुका साथै स्थानीय स्तरमा विवाद चुलिएको छ।

सम्बन्धित समाचार