पाल्पा-रिब्दीकोट गाउँपालिका ४, भैरवस्थानमा व्यावसायिक मौरीपालनलाई प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ मौरी पकेट क्षेत्र स्थापना कार्यक्रम अन्तर्गत मौरीका घारहरू वितरण गरिएको छ । चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार सोमबार कृषकहरूलाई मौरीसहितका र खाली घारहरू हस्तान्तरण गरिएको हो ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत रिब्दीकोट गाउँपालिकाको समन्वयमा सञ्चालित यस योजना अन्तर्गत भैरव मौरीपालन कृषक समूहमा आबद्ध करिब ५० जना व्यावसायिक कृषकहरूलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको छ । कार्यक्रममा जम्मा ३०० वटा आधुनिक घारहरू वितरण गरिएको वडाध्यक्ष सोम कुमार कार्कीले बताउनुभयो । जसमा १८३ वटा मौरीसहितका र ११७ वटा खाली घारहरू रहेका छन् ।
सो कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कार्कीले गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन र कृषकको आयआर्जन वृद्धि गर्न मौरीपालन व्यवसाय कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, वडाका जनप्रतिनिधिहरू, भैरव मौरीपालन कृषक समूहका पदाधिकारीहरू, गाउँपालिका कृषि शाखाका कर्मचारीहरू र सम्बन्धित कृषकहरूको उपस्थिति रहेको थियो ।
नयाँ मौरी पकेट स्थापना आयोजनाको कुल लागत २२ लाख ८ सय ५० रुपैयाँ रहेको छ । जसमा कार्यक्रमको तर्फबाट १२ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ भने अनुदानग्राही कृषक समूहको तर्फबाट १० लाख ८ सय ५० रुपैयाँ लागत सहभागिता रहेको छ ।
आधुनिक घारको वितरणसँगै यस क्षेत्रका कृषकहरू व्यावसायिक मौरीपालनतर्फ थप उत्साहित देखिएका वडा सदस्य राजेन्द नेपालले बताउनुभयो । सो वडा नं. ४ का वडा अध्यक्ष सोम बहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।























