Palpa Dainik
शनिबार, जेठ ०९, २०८३  |  May 23, 2026
×

पाल्पा- तिनाउ गाउँपालिकाद्वारा आयोजित ‘सातौँ अध्यक्ष कप वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता-२०८३’ भव्य रूपमा सम्पन्न भएको छ।

२०८३ वैशाख १८ गतेदेखि सुरु भई तीन दिनसम्म चलेको उक्त प्रतियोगितामा गाउँपालिकाका ६ वटै वडाका १२ टिमले उत्साहजनक सहभागिता जनाएका थिए।

प्रतियोगिताको पुरुष स्पर्धाको फाइनल खेलमा वडा नं. ५ को टिमले वडा नं. ४ लाई सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरेको छ भने लगातार तेस्रो पटक जित निकाल्दै रनिङ शिल्ड समेत आफ्नो कब्जामा पारेको छ। पुरुषतर्फ क्रमशः दोस्रो, तेस्रो र सान्तवना स्थान हासिल गर्ने वडा नं. ४, ६ र १ का टिमहरूले ९३ हजार ३ सय ३३, ५३ हजार ३ सय ३३, ३३ हजार ३ सय ३३ र १३ हजार ३ सय ३३ रुपैयाँका साथै ट्रफी र मेडल प्राप्त गरेका छन्।

त्यस्तै, महिलातर्फको प्रतिस्पर्धामा वडा नं. ६ ले प्रथम स्थान प्राप्त गर्दा वडा नं. ४ दोस्रो, वडा नं. ५ तेस्रो र वडा नं. १ सान्तवना हुन सफल भएका छन्। महिला विधाका विजयी टिमहरूलाई क्रमशः ४० हजार, २६ हजार ६ सय ६६, १३ हजार ३ सय ३३ र ६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार वितरण गरिएको छ।

तिनाउ युवा समन्वय समितिका अध्यक्ष चित्रबहादुर थापाको अध्यक्षतामा भएको समापन समारोहमा गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लाल बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु लगायतले विजयी खेलाडीहरूलाई पुरस्कार तथा अवार्ड वितरण गर्नुभएको थियो।

कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई बेस्ट लिब्रो, सर्भर, सेटर, स्पाइकर, ब्लकर र बेस्ट प्लेयर जस्ता विधागत अवार्डहरू समेत प्रदान गरिएको थियो। वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि र विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको सो कार्यक्रमले स्थानीय स्तरमा खेलकुद र युवा प्रतिभालाई थप प्रोत्साहन मिलेको गाउँपालिकाले जनाएको छ।

सम्बन्धित समाचार