पाल्पा – अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गर्न बाँकी रहेका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको विशेष प्रहरी टोलीले जारी र कुटपिट मुद्दामा फरार रहेका उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा पाल्पाको तानसेन नगरपालिका वडा नं. १० घर भई काठमाडौँको चन्द्रागिरि नगरपालिका-८ मा लुकिछिपी बस्दै आएकी ४३ वर्षीया बिना सार्की र रैनादेवी छहरा गाउँपालिका वडा नं. १ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-६ मा बस्दै आएका ६४ वर्षीय थानेश्वर कँडेल रहेका छन्।
बिना सार्कीलाई पाल्पा जिल्ला अदालतले २०७९ साल कात्तिक २५ गते जारी मुद्दामा १ महिना कैद र १ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। त्यस्तै, कँडेललाई २०८१ साल भदौ १७ गते कुटपिट मुद्दामा ५ महिना कैदको फैसला सुनाइएको थियो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक भवानी प्रसाद धमलाका अनुसार पक्राउ परेका दुवै जनालाई कैद भुक्तान र जरिवाना असुलका लागि पाल्पा जिल्ला अदालतमा बुझाइएको छ। अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियान अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।























