Palpa Dainik
बुधबार, जेठ १३, २०८३  |  May 27, 2026
×

पाल्पा-पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले शैक्षिक सत्र २०८२ को एसईई परीक्षाको नतिजा सार्वजनिक गरेसँगै पश्चिम पाल्पाको शैक्षिक वृत्तमा नयाँ उत्साह छाएको छ । पालिकाभरिका १२ वटा माध्यमिक विद्यालयहरूमध्ये भैरव नवदीप माध्यमिक विद्यालय, रैनादेवी छहरा–४ की छात्रा कुसुम कोइरालाले ४.० जीपीए हासिल गर्दै पालिकाकै सर्वोत्कृष्ट नतिजा निकाल्न सफल भएकी छन्। यो नतिजाले निजी विद्यालयको गुणस्तर मात्र अब्बल हुन्छ भन्ने भ्रमलाई चिर्दै सरकारी विद्यालयको सामथ्र्यलाई गर्विलो ढङ्गले प्रस्तुत गरेको छ।

यस वर्ष पालिकाभरिबाट कुल ३१० जना विद्यार्थी परीक्षामा सम्मिलित भएका थिए। जसमध्ये १८६ जना विद्यार्थीले ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन्, जसले पालिकाको समग्र उत्तीर्ण प्रतिशत ६०.६ कायम गरेको छ। यसै तथ्याङ्कको बीचमा भैरव नवदीप माविको प्रदर्शन निकै लोभलाग्दो देखिएको छ । विद्यालयबाट परीक्षामा सामेल भएका ६० जना विद्यार्थीमध्ये ४४ जना उत्तीर्ण भएका छन् । पालिकाभरिमै ४.० जीपीए ल्याउने कुसुम एकमात्र विद्यार्थी हुन्,  कोइराला भैरव माविकी विद्यार्थी हुन, जसले दुर्गम क्षेत्रको मेहनत र लगनशीलतालाई राष्ट्रिय स्तरमै प्रमाणित गरिदिएकी छन्।

कुसुम कोइरालाले सफलताका लागि सहरका महँगा भवन र उच्च शुल्क मात्र अनिवार्य नभएको बताएकी छन् । उनले विद्यालयको शान्त वातावरण र गुरुहरूको सही मार्गनिर्देशन भए आफ्नै गाउँको माटोमा बसेर पनि विश्वस्तरको नतिजा ल्याउन सकिने सन्देश दिएकी छन् । आफ्नो सफलताको सम्पूर्ण श्रेय विद्यालय परिवार र अभिभावकको निरन्तर मार्गदर्शनलाई दिँदै उनले अन्य विद्यार्थीहरूलाई पनि आफ्नै गाउँका शैक्षिक संस्थाहरूमाथि भरोसा गर्न आग्रह गरेकी छन् ।

पालिकाको समग्र नतिजालाई केलाउँदा अन्य विद्यालयहरूले पनि राम्रो प्रतिस्पर्धा देखाएका छन् । कालिका मावि, रैनादेवी छहरा.–५ ले ३.९२ जीपीएका साथ दोस्रो स्थान हासिल गरेको छ भने रैनादेवी माविले ३.८ र जोगवाणी माविले ३.७८ उच्चतम जीपीए निकाल्न सफल भएका छन् । त्यस्तै, उत्तीर्ण प्रतिशतको आधारमा वेदवेदाङ्ग मावि, रैनादेवी छहरा–१ ले ९२.३ प्रतिशत नतिजा निकाल्दै पालिकाकै उच्च सफलता दर कायम गरेको छ ।

सदरमुकामबाट निकै टाढा भएर पनि भैरव नवदीप माविले जुन स्तरको नतिजा पस्किएको छ, यसले सिङ्गो रैनादेवी छहरालाई एक मजबुत शैक्षिक धरोहरको रूपमा चिनाएको छ। कुसुमको यो सफलता अन्य सरकारी विद्यालयहरूका लागि एउटा प्रेरणादायी मानक बनेको छ ।

विद्यालयका प्रधानाध्यापक झलक रायमाझीले कुसुमको सफलतालाई विद्यालयको सुधारिएको शैक्षिक वातावरणको प्रतिफलका रूपमा अथ्र्याएका छन्। उनी भन्छन्, यो सफलता कुनै संयोग नभई विद्यालय परिवारको सामूहिक प्रयासको नतिजा हो, जसका कारण यस वर्ष विद्यालयका सबै ४४ जना परीक्षार्थीले सन्तोषजनक नतिजा प्राप्त गर्न सफल भएको बताए ।

रैनादेवी छहरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपालले यसपालिकाको एसइइको परीक्षाको नतिजामा गाउँपालिकाभर ६०.६ प्रतिशत सहित ४ जीपीए ल्याउन सफल भएको बताए ।

सम्बन्धित समाचार