पाल्पा। तानसेन नगरपालिकाको आयोजना तथा सूचना प्रविधि प्रवर्द्धन केन्द्रको सहकार्यमा नगरक्षेत्रका विभिन्न विद्यालयहरूमा किशोर–किशोरीहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य तथा कानुनी सचेतना सम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
किशोर–किशोरीहरूलाई शारीरिक, मानसिक तथा सामाजिक विकासका क्रममा आवश्यक ज्ञान, सीप र कानुनी जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा तानसेनका विभिन्न विद्यालयका करिब ४०० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम भुसालडाँडा माध्यमिक विद्यालय, महेन्द्रबोधि माध्यमिक विद्यालय, देववाणी संस्कृत तथा सामान्य माध्यमिक विद्यालय, जनप्रिय माध्यमिक विद्यालय र मोहनकन्या माध्यमिक विद्यालय लगायतका शिक्षण संस्थाहरूमा सञ्चालन गरिएको थियो।
सचेतना कार्यक्रममा किशोरावस्था र शारीरिक परिवर्तन, महिनावारी तथा व्यक्तिगत सरसफाइ, यौन दुर्व्यवहार तथा हिंसा, बालविवाह र त्यसका असरहरू समेटिएका थिए। साथै, वर्तमान समयमा चुनौतीपूर्ण बन्दै गएको साइबर अपराध तथा त्यसबाट जोगिने उपायहरू, बालअधिकार र किशोर–किशोरीसँग सम्बन्धित कानुनी व्यवस्थाहरू जस्ता महत्वपूर्ण विषयहरूमा समेत सघन छलफल र अभिमुखीकरण गरिएको थियो।
कार्यक्रममा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिंजालीको प्रमुख आतिथ्यता तथा सामाजिक विकास शाखा प्रमुख कौशलराज घिमिरेको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमका वक्ताहरूले किशोर–किशोरीहरूलाई सही सूचना, सकारात्मक व्यवहार र कानुनी चेतनाले सुरक्षित तथा जिम्मेवार नागरिक बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न विषयका विज्ञ तथा सरोकारवालाहरूले सहजीकरण गरेका थिए। कानुनी विषयमा अधिवक्ता द्वय शान्ति बस्याल तथा डेमलाल घिमिरे, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विषयमा बिराट नेपाल मेडिकल ट्रस्टका कार्यक्रम संयोजक सुदिप पौडेल, साइबर सुरक्षा तथा डिजिटल सचेतनाका विषयमा रिब्दीकोट गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुदिप पौडेल र नेपाल प्रहरीकी असई रोशनी नेपाली, तथा सञ्चार र सामाजिक उत्तरदायित्वका विषयमा पत्रकार कृष्ण दर्नालले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई किशोरावस्थामा देखिने परिवर्तनहरूलाई सकारात्मक रूपमा बुझ्न, सुरक्षित व्यवहार अपनाउन, हिंसा तथा दुर्व्यवहारको अवस्था आएमा सहायता खोज्न, बालविवाह तथा साइबर अपराधका जोखिमबारे सचेत रहन र आफ्ना अधिकार तथा कानुनी दायित्वबारे जानकारी राख्न प्रेरित गरिएको थियो।
आयोजक संस्थाहरूले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यालय तहका किशोर–किशोरीहरूमा सही ज्ञान, आत्मविश्वास र जिम्मेवार व्यवहारको विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।























