Palpa Dainik
शनिबार, जेठ ३०, २०८३  |  June 13, 2026
×

 पाल्पा-तानसेन नगरपालिका भित्रका निर्वाचित महिला वडा सदस्य तथा महिला कार्यपालिका सदस्यहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ तानसेनमा मेन्टरिङ कार्यक्रम सम्पन्न भएको छ। तानसेन नगरपालिकाको आयोजना तथा स्थानीय सरकार सबलीकरण, अस्ट्रेलियन एड प्राविधिक र सीडीडब्लुएनको सहकार्यमा प्रभावकारी र समावेशी स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तर्गत निर्वाचिन वडा सदस्य र महिला कार्यपालिका सदस्यहरुका लागि मेन्टरिङ कार्यक्रम सम्पन्न भएको हो।

‘सुशासनको १०० बुँदे कार्यक्रममा स्थानीय तहका महिला तथा वडा कार्यकर्ताको भूमिका’ विषयक सो कार्यक्रममा मुख्य गरी सुशासनको अवधारणा, विशेषता, पालिकाको सुशासन, तानसेन नगरपालिकामा महिला तथा दलित महिलाको अवस्था, नेपालमा सुशासन र समृद्धिका सवाल, समृद्धिका सामान्य सूचकहरू तथा नेपालमा सुशासन र समृद्धिको वर्तमान अवस्था जस्ता महत्वपूर्ण आयामहरूमा सघन छलफल र अन्तरक्रिया गरिएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि एवं तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले सुशासन कायम गर्ने विषय जनप्रतिनिधि र कर्मचारीको मात्र नभएर समग्र नागरिकसँग पनि प्रत्यक्ष जोडिएको बताउनुभयो। उपप्रमुख सिंजालीले नागरिक तहबाट हुने निरन्तरको खबरदारी र सचेतनाले नै कर्मचारी तथा जनप्रतिनिधिहरूलाई जिम्मेवार र उत्तरदायी बनाउने भन्दै सचेत नागरिकको भूमिकाले सुशासनको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका मुख्य सहजकर्ता नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले परिवर्तनको सुरुवात आफैंबाट गरे मात्र समग्र समाज परिवर्तन सम्भव हुने स्पष्ट पार्नुभयो। सुशासन र सार्वजनिक सेवा प्रवाहका विषयमा प्रकाश पार्दै पूर्व सचिव मैनालीले सामान्य अर्थमा जनभावनाको कदरसहित सेवा प्रवाह हुनु नै सुशासन भएको उल्लेख गर्नुभयो। सार्वजनिक कार्यसम्पादनमा निष्पक्षता, व्यावसायिकता, सामयिकता, गुणस्तरीयता र उचित प्रक्रियाको अवलम्बन भएको सर्वसाधारण नागरिकले बोध गर्न पाउनु नै वास्तविक सुशासन भएको भन्दै उहाँले सुशासन केवल पुस्तकका पाना र कानुनी परिभाषामा मात्र सीमित नभएर नागरिकले दैनिक जीवनमा महसुस गर्ने अनुभूति हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

सीडीडब्लुएनका कार्यकारी निर्देशक तेजेन्द्र लामाले स्थानीय सरकारका दैनिक काम कारबाहीहरूलाई जनमुखी र प्रभावकारी बनाउन महिला वडा तथा कार्यपालिका सदस्यहरूको भूमिकालाई थप सशक्त बनाउन जरुरी रहेको औंल्याउनुभयो। उहाँले महिला जनप्रतिनिधिहरूलाई नीति निर्माण र योजना कार्यान्वयनको तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न योग्य बनाउन आगामी दिनमा क्षमता अभिवृद्धिका क्षेत्रमा थप काम गर्न आवश्यक रहेको कुरामा जोड दिनुभयो।

तानसेन नगरपालिकाकी महिला विकास शाखा प्रमुख चिना न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको सो मेन्टरिङ कार्यक्रम तानसेन नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख कोशलराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन भने सीडीडब्लुएनका प्रतिनिधि एवं पत्रकार कृष्ण दर्नालले गर्नुभएको थियो।

सम्बन्धित समाचार