Palpa Dainik
शनिबार, जेठ ३०, २०८३  |  June 13, 2026
×

पाल्पा-जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा पाल्पाको तानसेनमा बैंकिङ सामुदायिक भेला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

संस्थासँग आबद्ध सदस्यहरूलाई पछिल्लो समय बढ्दै गएको साइबर जोखिमबाट कसरी सुरक्षित राख्ने र फजुल खर्च कम गरी नियमित बचत कसरी बढाउने भन्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले अचेल मोबाइलको प्रयोगसँगै साइबर ठगीका घटनाहरू तीव्र रूपमा बढेको तर्फ सचेत गराउनुभयो । उहाँले अपरिचित वा चिनजान नभएका व्यक्तिहरूसँग सामाजिक सञ्जालमा कुराकानी नगर्न र आफ्नो गोप्य विवरणहरू सुरक्षित राख्न आग्रह गर्दै समाजमा वित्तीय चेतनाको महत्व र कानुनी सुरक्षाका विषयमा छलफल आवश्यक रहेको बताउनुभयो ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका इलाका सञ्चालन अधिकृत टोप बहादुर विश्वकर्माले बचत तथा ऋणको सही सदुपयोग, र संस्थागत अनुशासन कायम गरी फजुल खर्च कम गरी बचत बढाउनुपर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले साइबर सुरक्षा र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका इलाका सञ्चालक प्रमुख टोप बहादुर विश्वकर्माले वित्तीय साक्षरताका सहजीकरण गर्नुभएको थियो । संस्थाका करिब १०७ जना सदस्य तथा सेवाग्राहीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सफल उद्यमीहरू तथा नियमित बचतकर्ताहरुलाई नगद, प्रमाणपत्रले सम्मान गरिएको थियो । जनउत्थान सामुदायिक लघुवित्त पाल्पाकी पुनम कुँवरको स्वागत मन्तव्यबाट कार्यक्रमको सुरु भएको थियो । कार्यक्रमको अध्यक्षता गतिशिल बैंकिङ समूहकी केन्द्र प्रमुख सन्तोषी श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जनउत्थान सामुदायिक लघुवित्त पाल्पा शाखाकी प्रमुख सपना सुनामले गर्नुभएको थियो ।

सम्बन्धित समाचार