Palpa Dainik
मंगलबार, साउन १२, २०८३  |  July 28, 2026
×

पाल्पा । तानसेन नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । १९ औं नगरसभा तथा अधिवेशन उद्घाटन गर्दै नगर प्रमुख सन्तोषलाल श्रेष्ठले कृषि, पर्यटन, सम्पदा संरक्षण, स्थानीय आर्थिक विकास, सामाजिक समावेशीकरण र भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएका हुन् ।

स्वास्थ्य क्षेत्रतर्फ “म स्वस्थ, मेरो समुदाय स्वस्थ” अभियान अन्तर्गत टोलस्तरमा स्वास्थ्य प्रवद्र्धन र नसर्ने रोगसम्बन्धी स्क्रिनिङ कार्यक्रम गरिनेछ । पूर्ण खोपयुक्त र कुपोषणमुक्त पालिका बनाउनुका साथै एचआईभी सङ्क्रमितहरूलाई मासिक ५०० रुपैयाँ औषधि उपचार सहायता दिइनेछ । प्रत्येक वडामा हरित पार्क र खुला व्यायामशाला निर्माण गरी “स्वस्थ नागरिक, स्वस्थ नगर” नीति अवलम्बन गरिने नगर प्रमुख श्रेष्ठले नीति तथा कार्यक्रममा उल्लेख गरेका छन ।

  नीति तथा कार्यक्रममा तानसेनलाई मासु, दूध, अण्डा र तरकारीमा आत्मनिर्भर भएको घोषणा गर्ने, दू उत्पादक कृषकहरूलाई प्रोत्साहन गर्न प्रतिलिटर ३ रुपैयाँ अनुदान उपलब्ध गराइने उल्लेख गरिएको छ । सो नीति तथा कार्यक्रममा बाँझो जमिनलाई उत्पादनमूलक खेतीमा उपयोग गर्न प्रतिरोपनी ५ हजार रुपैयाँ अनुदान दिने नीतिलाई निरन्तरता दिने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा भौतिक पूर्वाधारतर्फ आगामी आर्थिक वर्षभित्र वनदेवी बसपार्क निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ । घर नक्सा पास प्रणालीलाई आधुनिक र वैज्ञानिक बनाउन ’इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम’ लागू गरिनेछ ।

नगर प्रमुख श्रेष्ठले यो नीति तथा कार्यक्रम सफल पार्न नेपाल सरकार, प्रदेश सरकार, आन्तरिक स्रोत तथा एसिया फाउन्डेसन, युनिसेफ, यूएनडीपी जस्ता दातृ निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरिने बताउनुभयो ।

सभाका सदस्यहरु दिल बहादुर थापा, कमल दर्लामी, राधिका थापा, यम बहादुर कार्की, करण बहादुर रेश्मी, माधव बस्याल र सिता बस्नेतले प्रस्तुत नीति तथा कार्यक्रममा आ–आफ्नो क्षेत्रका नसमेटिका विषयबस्तृहरुको उठान गरेका थिए । नगरसभाका अध्यक्ष समेत रहेका श्रेष्ठले नगरसभा सदस्यहरुले उठाएका विषयबस्तुहरु कार्यपालिकामा छलफल गरी समावेश गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सम्बन्धित समाचार