पाल्पा। डिभिजन वन कार्यालय पाल्पाले “कबुलियती वन आयआर्जन सुधार, सिकाइ र आगामी कार्यदिशा” विषयमा पत्रकारहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ।
कार्यक्रममा सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले यो कार्यक्रमले हैसियत बिग्रिएका वनको पुनर्स्थापना गर्नुका साथै गरिब समुदायको आर्थिक अवस्था सुधारेको बताउनुभयो।
हाल जिल्लामा २०५ वटा कबुलियती वन समूहमार्फत १ हजार ६६८ हेक्टर क्षेत्रफल व्यवस्थापन भई २ हजार २२३ घरधुरी लाभान्वित भएका छन्। विगत पाँच वर्षमा २३ लाख अम्रिसोका बिरुवा रोपणबाट ७ करोड ६ लाख रुपैयाँ बराबरको आम्दानी भएको छ।
बरिष्ठ वन अधिकृत खिलबहादुर तामाङका अनुसार अम्रिसोसँगै किवी, केरा, तेजपात, टिमुर, अलैँची र व्यावसायिक पशुपालन समेत विस्तार गरिएको छ।
स्थानीय समूहको बचत र सहकारीमार्फत करोडौँको वित्तीय कारोबार भई स्थानीय अर्थतन्त्र बलियो बनेको छ। आगामी दिनमा अम्रिसोको दिगो उत्पादन, कुचो उद्योग स्थापना र वित्तीय पारदर्शितामा जोड दिइने कार्यालयले जनाएको छ।
























