पाल्पा-नेशनल प्याथ ल्याबले पाल्पाको तानसेनमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। पाल्पा जिल्लाको तानसेनको आन्दोलनचोकमा साउन १ गतेदेखि सेवा शुभारम्भ गरेको ल्याबले उद्घाटनको अवसरमा साउन महिनाभर विभिन्न प्रयोगशाला परीक्षणमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ।
करिब डेढ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको शाखामा अत्याधुनिक प्रयोगशाला उपकरण र दक्ष प्राविधिकको व्यवस्थासहित सेवा सुरु गरिएको हो। संस्थाका अध्यक्ष रुद्रबहादुर कार्कीले देशभर गुणस्तरीय प्रयोगशाला सेवा प्रदान गर्दै आएको संस्थाले पाल्पावासीलाई सहज र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले तानसेनमा शाखा विस्तार गरिएको बताउनुभयो। उहाँका अनुसार अब प्रयोगशाला परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ। नमुना परीक्षणका लागि अन्यत्र पठाउँदा रिपोर्ट आउन ढिलाइ हुने र त्यसले बिरामीको उपचारसमेत प्रभावित हुने समस्या अब समाधान हुने उहाँले उल्लेख गर्नुभयो।
शाखाका टेक्निकल डाइरेक्टर डा. रुपेन्द्र शाक्यका अनुसार प्रयोगशालामा रगतसम्बन्धी सम्पूर्ण परीक्षणका साथै सुगर, मिर्गौला, मुटु, प्यान्क्रियाज, हड्डीलगायत सबै प्रकारका बायोकेमिस्ट्री परीक्षण गरिन्छ। त्यस्तै हर्मोन, थाइराइड, ट्युमर तथा क्यान्सर, प्रजनन स्वास्थ्यसम्बन्धी परीक्षण, माइक्रोबायोलोजी तथा साइटोलोजी सेवासमेत उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो।
ल्याबमा पूर्ण स्वचालित बायोकेमिस्ट्री एनालाइजर, इम्युनोलोजी एनालाइजर, हेमाटोलोजी एनालाइजर, प्रोटिन एनालाइजरलगायत गुणस्तरीय मापदण्ड पूरा गरेका आधुनिक उपकरणमार्फत दक्ष तथा अनुभवी प्याथोलोजिस्ट, टेक्नोलोजिस्ट र टेक्निसियनबाट सेवा प्रदान गरिने डा. शाक्यले बताउनुभयो।
ल्याबका अनुसार सेवा शुभारम्भकै दिन एक सयभन्दा बढी सेवाग्राहीले प्रयोगशाला सेवा लिएका छन्। वि.सं. २०६९ सालमा बुटवलबाट स्थापना भएको नेशनल प्याथ ल्याबले हाल पाल्पासहित देशका १८ वटा सहरमा शाखा विस्तार गरिसकेको छ। बुटवल, काठमाडौं, भैरहवा, गुल्मी, अर्घाखाँची, घोराही, तुल्सीपुर, पोखरा, चितवन, धनगढी, महेन्द्रनगरलगायतका स्थानमा पनि संस्थाका शाखाहरू सञ्चालनमा रहेको जनाएको छ।
























